काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ ।
प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिना अन्य कारण खुल्न सक्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनको हत्या गरेको आरोपमा शनिबार झापाको बिर्तामोडबाट पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज सार्वजनिक पनि गरेको छ । उनी झापा मेचीनगर नगरपालिका–१० घर भइ भक्तपुर नगरपालिका–१ लोकन्थली डेरा गरी बस्दै आएका थिए ।
उनले आफूले नै हत्या गरेको बयान दिएको सिआईवीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । आचार्यका अनुसार लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि विनोदले भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा प्रहार गरेर हत्या गरेका थिए । निरा एक दशक अघिदेखि काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आएकी थिइन् ।
प्रहरीले दिएको जानकारीअनुसार सुरुमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेको र पछि काठमाडौँमा बाउन्सरको रुपमा जागिर गरेका थिए । जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेका थिए ।
घटना घटाएर झण्डै एक हप्ता भक्तपुरको लोकन्थलीमा लुकेर बसेका उनी त्यसपछि झापा गएका थिए । उनले निराको सुनको सिक्री र काउन्टरमा भएको करिब १२ हजार रुपैयाँ लुटेको प्रहरीको दाबी छ । त्यो सिक्री काठमाडौँको तारकेश्वरस्थित पाथिभरा सुनचाँदी पसलमा धरौटी छाडेर ५५ हजार पैसा लिएर गएको पनि खुलेको छ । हत्याका बेला लगाएको कपडा, जुत्ता तथा झोलासमेत प्रहरीले बरामद गरेको छ ।
उक्त हत्याको अनुसन्धानमा सुरुमा जिल्ला प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरेको थियो । तर त्यो अनुसन्धान निष्कर्षमा पुग्न नसकेपछि सिआइवीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरको समिति गठन गरिएको थियो ।
समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागि थिए ।
हत्याको दिन सामान किन्न भनेर उनी पसलमा पसेका थिए । कुरा गर्न खोज्दा निराकी छोरी चिया पुर्याउन आएपछि एटिएमबाट पैसा झिकेर आउँछु भनेर निस्किएका विनोद केही समयपछि फेरि आएको सिआइवीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । दोस्रो पटक एक्लै भएको मौका पारेर उनले घटना घटाएका थिए ।
वैशाख ७ गते अपराह्न पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको चक्कुले शरीरका विभिन्न अङ्गमा प्रहार गरी हत्या गरिएको थियो । गम्भीर अवस्थामा फेला परेकी उनलाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बागलुङ घर भएकी उनी त्यहाँ भाडामा भाँडा पसल गर्दै आएकी थिइन् । केही मिनेटको दुरीमा रहेको उनको कोठाको तल्लो सटरमा श्रीमान्को इलेक्ट्रिोनिक्स पसल समेत रहेको छ ।
त्यसदिन निरा पसलमै एक्लै थिइन् । भाँडा पसलको पछाडि काउन्टर थियो । प्राय पसलमा ग्राहक नआएका बेला उनी त्यतै बस्थिन् । त्यही बेला उनीमाथि आक्रमण भएको थियो । पछाडि भएकाले वरपर घटनाबारे थाहा हुन सकेन । सिसी क्यामरा नभएकाले प्रहरीलाई अनुसन्धान गर्न समेत हम्मेहम्मे परेको थियो । पछि वरपरका सिसी क्यामरा हेरेर अध्ययन गरिएको थियो ।
घटना पछि एक जना महिला भाँडा किनेको उधारो तिर्न आएकी थिइन् । पसलमा उनी थिइनन् । त्यसपछि नीराको श्रीमानलाई फोन गरेर कोही छैन दोकानमा भनिन् । श्रीमानले पछाडी काउन्टर छ, त्यतै तिर होलिन् भित्र गएर हेर्नु न भनेर जवाफ दिएका थिए ।
भित्र काउन्टर नजिक गएर हेर्दा उनी रक्ताम्मे भएर ढलिरहेकी दखेपछि उनले नै प्रहरीमा खबर गरेकी थिइन् । घटना भएको केही घण्टा अघि उनले लामखुट्टे नियन्त्रण गर्ने व्याटको सामाजिक सञ्जालमा प्रचार गरेको पाइएकाले घटनामा पारिवारिक कारण नभएको प्रहरीले यसअघि नै निष्कर्ष निकालेको थियो । यसअघि घटनाका दोषीलाई पत्ता लगाई कारबाही गर्न नसकेको भन्दै स्थानीयले घटनास्थलमा प्रदर्शनसमेत गरेका थिए ।





























प्रतिक्रिया