नक्कली भुटानी शरणार्थी प्रकरणको नयाँ ट्वीस्टमा फरार रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझी १० दिनपछि पक्राउ परेका हुन्।
२१ वैशाखमा पक्राउ पुर्जी जारी भएपछि “मलाई पक्राउ गरिरहनु पर्दैन, म आफै उपस्थित हुन्छु” भन्दै उनी एकाएक गायब भएका थिए। प्रहरीकै ‘सहयोगमा’फरार रहेर गुमनाम जस्तै बनेका रायमाझी अन्ततः कसरी परे प्रहरीको फन्दामा ?
कसरी परे प्रहरीको फन्दामा रायमाझी ?
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न देखिएका एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट समातिएका हुन् ।
पक्राउ पुर्जि जारी भए लगत्तै वैशाख २१ गतेदेखि फरार उनी नेपाल र भारतमा लुकेर बसेको चर्चा पनि चलेको थियो ।
विभिन्न बाटो भएर मध्यराति काठमाडौँ छिरेका उनलाई प्रहरीले हिरासतमा लिएको हो । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट उनलई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरीले बताएको छ ।
रायमाझी नयाँदिल्लीमा एक नेपाली मूलका व्यापारीको घरमा बसेको र प्रहरीको टोली पुगेको जानकारी पाएपछि पक्राउ पर्ने डरले नेपाल फर्केको प्रहरीको दाबी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा औपचारिक रूपमा केही जानकारी नदिएको प्रहरीले रायमाझी पक्राउ पर्दा भने बुढानीलकण्ठबाट पक्राउ गरिएको भनेर प्रेस विज्ञप्ति निकालेको छ ।
गत २० वैशाखमा पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । त्यस दिन उनले आफू निर्दाेष रहेको र काठमाडौं फर्किएर प्रहरीलाई सघाउने बताएका थिए ।
भोलिपल्ट रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली खटिएकोमा आफैँ उपस्थित हुने भन्दै पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई आग्रह गरेका थिए । सोही आधारमा आइजिपीले त्यति सुविधा दिन भन्दै टोलीलाई फर्काएकोमा उनी प्रहरीलाई झुक्याउँदै भारत भागेका थिए ।
लगत्तै आइजिपी कुँवरले नै रायमाझीलाई पक्राउ गर्न सिआइबीको टोली खटाएका थिए । सोहीअनुसार फरार भएको ११औँ दिनमा उनी पक्राउ परेका हुन् । उनका छोरा सन्दीप २० वैशाखदेखि नै प्रहरी हिरासतमा छन् ।
रायमाझी बाबु–छोरा नक्कली शरणार्थीसम्बन्धी ठगीमा सुरुदेखि नै संलग्न रहेको प्रहरी दाबी छ । उनीहरूले बैंक खातामै पटक–पटक पैसा लिएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । बालकृष्ण पन्थी नेतृत्वको कार्यदल गठनमै पनि टोपबहादुरको सक्रियता देखिएको र सो प्रतिवेदन कार्यान्वयनमा सहयोग गरिदिने भन्दै पैसा लिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएपछि प्रहरीले रायमाझीलाई सोधेको थियो, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ जवाफमा रायमाझीले भनेका थिए, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’
रायमाझीलाई पनि प्रहरीले हिरासतमा नराखी प्रहरी बस्ने कोठामै राखेको छ । उनलाई प्रहरी वृत्त, सोह्रखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा बस्ने व्यवस्था मिलाइएको छ । सोह्रखुट्टेमा प्रहरी वृत्तको भवन नयाँ र सुविधासम्पन्न भएकाले रायमाझीलाई त्यहाँ राखिएको हो ।
सोह्रखुट्टे लैजानुअघि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । मदिरा सेवन गरेको अवस्थामा भेटिएका रायमाझीले चिकित्सकलाई भनेका थिए, ‘मैले एक ग्लास बियर पिएको छु ।’ बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि हिरासतमा नराखी टेकुस्थित प्रहरी परिसरमा डिएसपीको कोठामा राखिएको छ ।
यो प्रकरणमा पक्राउ परेका अन्य ११ जना भने काठमाडौँका विभिन्न हिरासतमा छन् । एकै हिरासतमा राख्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले फरक-फरक हिरासतमा राखिएको छ ।





























प्रतिक्रिया