खाणलाई निलम्बन गर्न कांग्रेस सभापति देउवाको आनाकानी [भिडियाेसहित]

खाणलाई निलम्बन गर्न कांग्रेस सभापति देउवाको आनाकानी [भिडियाेसहित]


नक्कली भुटानी शरणार्थी प्रकरणको सडकदेखि सदनसम्म छरपस्टै छ। उक्त प्रकरणमा दोषी भनिएका १५ जना अहिले प्रहरी हिरासतमा छन्।

जसमध्ये एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझी निलम्बित भइसकेका छन् भने नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण अझै निलम्बनमा परेका छैनन्।

उता कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै आन्दोलनरत छ। तर पार्टी सभापति शेर बहादुर देउवा भने मौन छन्। किन हिच्किचाइरहेका छन् त देउवा ?

बिहीबार नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। प्रकरण दिनप्रतिदिन पेचिलो बन्दै गएको छ।

निलम्बित एमाले सचिव रायमाझीले किस्ता-किस्तामा गरेर ३ करोड बुझेको र खाणले १ करोड २३ लाख ५० हजार रुपैयाँ ‘गिफ्ट’ बुझेको प्रमाण भेटिएको बुधबारको कान्तिपुरमा उल्लेख छ।

यद्यपि रायमाझी निलम्बित भइसकेका छन् भने खाणलाई नेपाली कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन। त्यस्तै महासमिति सदस्य तथा पूर्व संसाद आङटावा शेर्पालाई पनि कांग्रेसले निलम्बन गरेको छैन।

खाणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रदेखि तल्लो तहसम्म विभाजित बनेको छ। पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई मुद्दाको किनारा नलागेसम्म पार्टीको जिम्मेवारीबाट अलग राख्ने विषयमा कांग्रेसमा दुई धार देखिएको छ।

संस्थापन समूह तत्काल निलम्बन नगर्ने पक्षमा छ भने इतर समूहले निलम्बन गर्दा पार्टी हितअनुकूल हुने मत राख्दै आएको छ। हालसम्म यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक भएको छैन। 

सभापति शेरबहादुर देउवाभने पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल र राय लिएर मौन छन्। निर्णय लिन कार्यसम्पादन या कार्यसमितिको बैठक भने आह्वान गरिएको छैन। यसकारण तत्काल खाणलाई निलम्बन गर्ने निर्णय हुने अवस्था छैन।

कांग्रेसका अनुसार खाण पक्राउ परिसकेको अवस्थामा पनि संस्थापन केही नेताहरू भने निलम्बनको विपक्षमा छन्। महामन्त्री गगन थापाले मंगलबार नै खाणलाई निलम्बन गर्नुपर्ने भन्दैनक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको जिम्मा पार्टीले नलिने स्पष्ट पारिसकेका छन्।

यता प्रवक्ता डा. प्रकाशशरण महत भने खाणको विषयमा अनुसन्धान टुंगो नलागेसम्म कुनै निर्णय लिने तयारी नभएको बताउँछन्। मंगलबार राजधानीमा पत्रकार भेटघाटमा प्रतिक्रिया दिँदै उनले अनुसन्धानबाट नतिजा आइसकेपछि निर्णयमा पुग्ने बताएका थिए। 

त्यसो त आरोप पुष्टि भएका नेताहरुलाई समेत निलम्बन गर्ने कांग्रेसको परम्परा होइन। यसअघिपनि आरोप लागेका कांग्रेसका नेताहरूलाई निलम्बन गरिएको विगत छैन। चर्चित बालुवाटर प्रकरणमा आरोपित तत्कालीन उपसभापति विजयकुमारगच्छदारलाई पनि कांग्रेसले निलम्बन गरेको थिएन।

बरु मुद्दा विचाराधीन रहेकै अवस्थामा गच्छदार १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवार बने। साथै, गत प्रतिनिधिसभा निर्वाचनमा पनि उनले प्रत्यक्षतर्फ सुनसरी ३ बाट टिकट पाएका थिए। तर, दुवै निर्वाचनमा गच्छदार पराजित बन्न पुगे। हाल उनी केन्द्रीय सदस्य छन्। 

त्यस्तै, विशेष अदालतबाट भ्रष्टाचार आरोप ठहर भएका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पनि कुनै कारबाही गरिएको छैन । उनी पनि हाल केन्द्रीय सदस्यकै हैसियतमा छन् ।

गत २५ फागुनमा ३१ करोड भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गुरुङसहित नौजनालाई दोषी ठहर गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ सांसदबाट भने निलम्बित छन् ।

किन हिच्किचाए देउवा ?

पछिल्ला दिनमा खाणलाई निलम्बन भन्दा पनि कसरी जोगाउन भनेर देउवा केन्द्रित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु राणा देउवाको नाम जोडिएपछि खाणलाई निलम्बन गर्दा आरजुको नाम पोलिने सक्ने त्रासले पनि निर्णयमा पुग्न नसकेको गाँइगुँइ छ।

खाण पक्राउपछि बसेको पदाधिकारी बैठकमा निलम्बन गर्न करिब-करिब सहमत भएका देउवा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेकका नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको चर्चा छ।

Logo