देशैभर केही दिनयता उखरमाउलो गर्मी महसुस भइरहेको छ। मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा तापक्रम अत्याधिक बढेको छ। जेठको घामसँगै बढेको गर्मीले खासगरी तराईका जिल्लामा जनजीवन अस्तव्यस्त बनाएको छ।
तराईका अधिकांश क्षेत्रमा यो बेला ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन भइरहेको छ। तातो हावा लू चल्न थालेपछि घर बाहिर निस्कन समेत कठिन हुँदै आएको छ।
शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सीयस मापन भएको छ। काठमाडाैँ उपत्यकामा तापक्रम बढन थालेसँगै बालबालिकामा दादुरा, ज्वरो जस्ता समस्याहरु देखा पर्न थालेका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको र नेपाल भित्रन अझै केही समय लाग्ने बताए । केरला आइपुगेको मनसुनी वायु नेपालमा आइपुग्न सरदर १२ दिन लाग्ने गर्छ। तर उक्त मौसमी प्रणाली १० दिनमै भित्र पनि सक्छ अथवा १४ दिन पनि लाग्न सक्छ। पौडेलले मनसुनी वायु नभित्रिएसम्म तापक्रम नघट्ने बताए।
गत वर्ष यो समयमा मौसमी प्रणालीको विकास भए पनि यो वर्ष भने लामो समय प्रिमनसुन कायम रहेकाले मनसुनी प्रणाली सुरु हुन समय लागेको वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ। सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा भित्रने गर्दथ्यो। केरलामा रहेको मनसुनी वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग निर्भर रहनेपौडेलले बताए।
केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ। त्यसपछि उत्तरपूर्व हुँदै नेपाल भित्रने गर्छ। झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन मध्य र पश्चिम नेपालमा चार पाँच दिन लाग्ने र पूवी नेपालमादुई,तीन दिनमा केही सुधार हुने मौसमविद् बरुण पौडेलले बताए।
मौसम विभागले देशभरको तापक्रम तत्काल घट्ने सम्भावना पनि नरहेको बताएको छ। शुक्रबार देशका ६ स्थानको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ। सबैभन्दा बढी सिमरामा ४२.६ डिग्री सेल्सियस मापन भएको छ। जनकपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री भन्दा बढी छ ।
तराईका केही स्थानमा चलिरहेको तातो हावा ‘लू’बाट थकान लाग्ने, कमजोरी हुने, बढीतिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायत असरहरू देखिने गर्छ ।
गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लामा केही दिनका लागि विद्यालय नै बन्द गरिएको छ।
तातो हावा तथा ‘लू’बाट बच्न बढी गर्मीको समयमा घर भित्र नै अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का प्रकारका सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, चिसो पानीले नुहाउने,पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन चिकित्सकले सुझाब दिएकाछन्। स्वास्थ्यमा समस्या आए नियमित सम्पर्कमा रहने तथा स्वास्थ्यकर्मीहरूको सुझाव लिन सकिने विभागको आग्रह छ ।





























प्रतिक्रिया