आइतबार घरेलु टोली जिम्बावेविरुद्ध खेल्दै नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्दैछ।
विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई डकवर्थ लुइस पद्दतीका आधारमा ९ रनले हराएर जिम्बावे यात्रा सुनिश्चित गरेको नेपालले आइतबारदेखि विश्वकपमा पुग्ने अन्तिम ढोका अर्थात् ‘सेमी वल्र्डकप’ मा प्रतिस्पर्धा सुरु गर्नेछ। यो प्रतियोगिता नेपालजस्ता एशोसिएट राष्ट्रहरुका लागि टेष्ट मान्यता पाप्त गर्ने टोलीहरुसँग प्रतिस्पर्धा गर्ने राम्रो अवसर पनि हो ।
जिम्बावे यात्राका क्रममा नेपालले आयोजक जिम्बाब्वेसँगै वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्सविरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।
१० टिम सम्मिलित ग्लोवल क्वालिफायरको शीर्ष दुई टिमले आउने अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछ। नेपालले एकदिवसीय विश्वकपका लागि तेस्रोपल्ट विश्वकप छनोट खेल्न लागेको हो।
नेपालले अघिल्लो संस्करणको एकदिवसीय विश्वकपअघि ग्लोवल क्वालिफायरमा टेष्ट मान्यताप्राप्त टिम जिम्बावेसँग नै खेलेको थियो। नेपालले चार वर्षपछि जिम्बावेमा पुनः सोही राष्ट्रविरुद्ध आफ्नो क्षमता देखाउने अवसर पाएको छ।
नेपाल र जिम्बावेबीचको खेल आइतबार दिउँसो हरारे स्पोर्ट्स क्लबमा १२ः४५ बजे सुरु हुनेछ। नेपालले जिम्बाव्वेसँग पाँच वर्षपछि ५० ओभरको क्रिकेट खेल्न लागेको हो। यसअघि यी दुई टोलीले सन् २०१८ मार्चमा जिम्बाव्वेकै घरेलु मैदानमा विश्वकप छनोट खेलेका थिए। त्यसबेला नेपालले ओडीआई मान्यता प्राप्त गरेको थिएन। सोही छनौट खेलमा नेपाल एसोसिएटतर्फ शीर्ष तीन टोलीभित्र परेपछि नेपालले पहिलो पटक ओडीआई मान्यता प्राप्त गरेको थियो।
पाँच वर्षपछि जिम्बावे भ्रमणमा निस्केको नेपालसँग अहिले पनि ओडीआई मान्यता कायम नै छ। जिम्बावेसँग खेल्नुअघि नेपालले ४ अभ्यास खेल खेलेको थियो। जहाँ नेपालका लागि ३ खेल बिर्सन लायक थियो भने अन्तिम तथा चौँथो खेलमा ओमानलाई ३ विकेटले हराउँदै टोलीले आफ्नो फर्मलाई पुनः भेट्टाएको थियो ।
सन् २०१८ मा भएको छनोट खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो। ब्रेन्डन टेलर र सिकन्दर राजाको शतकमा ३८० रन बनाएको थियो। जवाफमा नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६४ रन मात्र बनाएको थियो।
५ वर्षपछि सोही टोलीसँग उसैको घरेलु मैदानमा उत्रिँदा नेपाली टोलीलाई जित निकाल्नु बाहेक अन्य विकल्प छैन भने जिम्बाव्वे पनि घरेलु मैदानमा जित निकाल्दै प्रतियोगिताको सुरुवाट गर्न चाहन्छ।
टेष्ट मान्यता प्राप्त गरिसकेको जिम्बावेसँग अनुभव र घरेलु मैदानको फाइदा छ भने नेपालसँग पनि पछिल्लो समय प्रत्येक खेलमा जित र सुधारिएको प्रदर्शनको अनुभव छ। नेपालको परम्परागत कमजोरी ब्याटिङमा पनि निकै सुधार आइसकेको छ। ओपनिङदेखि अन्तिमसम्म सबै खेलाडीहरुले राम्रो खेलिरहेका छन्।
बलिङतर्फ पनि नेपाली टोली ५ वर्षअघिको भन्दा सुधारिएको र बलियो बनिसकेको छ। आइतबार हुने उद्घाटन खेलमा दुबै टोलीले कुनै पनि हालतमा जित निकाल्ने उद्देश्यका साथ हरारे स्पोर्ट्स क्लबको मैदानमा उत्रने पक्का छ।
दुबै टोली पहिलो जितलाई आत्मसाथ गर्न चाहन्छन्। उद्घाटन खेलमा कसले मार्ला त बाजी? यसको जवाफ आइतबार आउने पक्का छ।





























प्रतिक्रिया