केन्द्रबिन्दु एक्सप्रेसः मनसुन देशैभर फैलियो, काठमाडौँमा आदिपुरुष चल्न नदिने [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः मनसुन देशैभर फैलियो, काठमाडौँमा आदिपुरुष चल्न नदिने [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल सकिएको छ। गत जेठ ३२ गतेदेखि सुरु भएको छलफलमा सत्तारुढ दलकै सांसदहरुले बजेट सम्सोधनको माग गरेका थिए। छलफलका क्रममा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिएपछि विधेयक पारितको प्रक्रियामा जानेछ। 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच सवालजवाफ भएको छ। सांसदहरुले कर्णालीको संबृद्धि, बजेटमा मधेशलाई उपेक्षा, रासायनिक मलको अभाव, सीमा समस्या लगायत विषयमा प्रधानमन्त्रीको जवाफ मागेका थिए। जवाफमा प्रधानमन्त्रीले जनअपेक्षाअनुसारै काम भइरहेको दाबी गर्दै केही महिनाभित्रै रिजल्ट देखिने ठोकुवा गरे। 

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। राष्ट्रपति पौडेल असार २ गतेदेखि उक्त अस्पतालमा उपचाररत छन्। 

नेपालीहरुको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको एक प्रतिवेदनले देखाएको छ। नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सार्वजनिक गरेको प्रतिवेदनमा महत्त्वपूर्ण राष्ट्रिय लक्ष्यहरु पूरा गर्न प्रयासहरु थप बढाउन आवश्यक रहेको उल्लेख छ। 

ओखलढुंगाको चम्पादेवीमा पहिरोले घर पुर्दा मृत्यु हुने चार जना पुगेका छन्। चम्पादेवी गाउँपालिकाको विलन्दुका रणबहादुर गुरुङको घर बगाउँदा उनीसँगै श्रीमती शिवमाया,छोरा दिनेश र छोरी कृतिकाको मृत्यु भएको हो। 

मनसुन भित्रिएको ९ दिनपछि शुक्रबारदेखि देशैभर फैलिएको छ। मुनसुनी प्रणाली सक्रिय भएसँगै आगामी ३ दिन देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

मधेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ३१ दशमलब २९ प्रतिशतमात्रै खर्च गरेको छ। अहिलेको गतिअनुसार वर्षको अन्तिमसम्ममा सरकारले थालेका काममा ५० प्रतिशतसम्म बजेट खर्च हुने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुमान छ। 

काठमाडौँ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। १३औं नगरसभाको दोस्रो बैठकले ५२ बुँदामा समेटिएको कार्यक्रम, ११ बुँदे नीति र १२५ बुँदामा समेटिएको कार्यनीति पारित गरेको हो। 

जनकपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २८ करोड २३ लाख बराबरको बजेट ल्याएको छ। चालु खर्चतर्फ १ अर्ब १३ करोड ६२ लाख र पूँजिगत खर्चतर्फ ५६ करोड ९५ लाख विनियोजन भएको छ। जनकपुरले सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुर उपमहानगर बनाउने लक्ष्य लिएको छ। 

काठमाडौँ महानगरले बन्द गराएको कान्तिपुर हिसान एडु फेयर उच्च अदालत पाटनको आदेशपछि शुक्रबारदेखि पुनः सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। 

उच्च अदालतले प्रदर्शन अनुमति दिए पनि आदिपुरुष प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आदिपुरुषबाहेकका अन्य हिन्दी चलचित्र प्रदर्शनमा भने कुनै रोक नलगाउने स्पष्ट पारेको हो। 

नेपाल र क्यामरुनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको देशको संख्या १८० पुगेको छ। 

लामो समयपछिको खडेरीले पानीको स्रोत सुकेपछि पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि ट्यांकरमा पानी ओसारेर खुवाउन थालेको छ । निकुञ्जभित्र प्राकृतिक तथा मानव निर्मित गरी ६ दर्जनबढी पोखरी छन् । 

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ३ हजार ८७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको छ । भन्सार विभागकाअनुसार यो अवधिमा विद्युतीय कार आयतका लागि ११ अर्ब २३ करोड रकम बाहिरिएको छ ।  

आन्ध्र महासागरमा डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी विष्फोट हुँदा त्यसमा सवार सबै ५ जनाको मृत्यु भएको छ । 

पोखरामा नेपाल चाइना फ्रेन्डसिप ड्रागन बोट फेस्टिवल सुरु भएको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित चीन, सिंगापुरका टोली सहभागी छन् । महासागरभित्रै मृत्यु भएका उनीहरु पाकिस्तान, बेलायतका धनाड्य तथा अन्वेशकहरु थिए ।

Logo