अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीमा रहेको सुनको परीक्षण तथा नापतौल लिएको छ ।
जलहरी जडानमा व्यापक अनियमितता भएको भन्ने गुनासोका बीच अख्तियारले नापतौल लिएको हो। सुनको तौल सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुने भन्दै अख्तियारले तत्काल सार्वजनिक नगर्ने बताएको छ। यद्यपि स्रोतका अनुसार सुन आधा किलोग्राम कम छ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट उपचार खर्चवापत १ लाख रुपैयाँ दिलाउन आदेश गरेको हो।
पशुपति क्षेत्र विकास कोसका तत्कालिन सदस्य सचिव प्रदीप ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले उनीमाथि १ करोड४४ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन् । आफैंले कानूनी र नैतिक प्रश्न उठाएका व्यक्ति अदालतको सर्वोच्च पदमा पुगेकाले मातहतमा बस्न असहज हुने भएकाले राजीनामा दिएको भट्टराईको भनाइ छ ।
मुलुकभर रहेका स्थानीय तहमध्ये ४२ वटाले संविधानले तोकेको असार १० गते बजेट ल्याउन सकेनन् । ७५३ मध्ये २९ वटा गाउँपालिका र १३ वटा नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् । तीमध्ये २३ पालिका मधेश प्रदेशका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले असार १४ गते दिउँसो एक बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेपछि उनले सोही दिन विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्र र जसपाले सरकार छाडढेपछि कार्की अल्पमतमा छन् ।
काठमाडौंको माइतीघरमा गत जेठ ३० गते आत्मदाहको प्रयास गरेका मोरङ कटहरी ४ का निरजकुमार कामतले अन्ततः वंशजको नागरिकता पाएका छन् । उनलाई सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।
काठमाडौं महानगरपालिका भित्र भवन निर्माण सामग्री सडकमा राख्न अब अनुमति लिनु पर्ने भएको छ । आर्थिक ऐन २०८० मार्फत माहानगरले भवन निर्माण गर्दा सामग्री राख्ने विकल्प नभए अनुमति लिएर मात्रै सामग्री सडकमा राख्न पाउने बताएको हो ।
प्रतिनिधिसभामा सोमबार पनि विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन् । सोमबार रक्षा, स्वास्थ्य, परराष्ट्रसहित विभिन्न ८ मन्त्रीले जवाफ दिएका हुन् ।
काठमाडौं महानगरपालिकाले प्लस टूमा आफुखुशी शुल्क लिन नपाउने गरी रोक लगाएको छ । आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना गर्न विद्यार्थीसँग के के शीर्षकमा के कति शुल्क लिने हो प्रस्ताव गर्न महानगरले आह्वान पनि गरेको छ ।
नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउन सुरु गरेको छ । पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था मिलाइएको कांग्रेसको भनाइ छ । काठमाडौं उपत्यकाभित्रमा तीन ठूला प्रमुख अस्पतालहरु वीर, त्रिवि शिक्षण र पाटन अस्पतालमा छालाका समस्या लिएर उपचारका लागि पुग्ने बिरामीमध्ये अधिकांशमा एक्जिमाको समस्या देखिएको छ।
काठमाडौंको भोटेबहालमा इनारमा डुबेर झापाका दिपेन लिम्बू र सिन्धुलीका जितेश गुरुङको मृत्यु भएको छ । नजिकको घरमा रंग लगाउन गएका उनीहरु इनारमा मोटर खसेपछि निकाल्न एकपछि अर्को गर्दै छिरेका थिए ।
नेपाल स्टक एक्सचेन्ज नेप्से सोमबार पनि दोहोरो अंकले बढेको छ । ११ दशलमब ६९ अंकले बढेर नेप्से २१२९ दशमलब ४२ विन्दुमा पुगको छ । कारोबार रकममा भने आइतबारको तुलनामा १ अर्ब ८ करोड रुपैयाँले गिरावट आयो । सोमबार ५ अर्ब ३१ करोडको मात्रै कारोबार भयो ।
श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनसंरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरुले आगामी बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । ऋण पुनर्सरचनाबारे संसदमा छलफल भइरहेका समय बजार खुला हुनु अस्वस्थकर हुने उनीहरुको तर्क छ ।





























प्रतिक्रिया