केन्द्रबिन्दु एक्सप्रेसः साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित, कांग्रेस र माओवादीलाई बजेट पारितमा सकस [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित, कांग्रेस र माओवादीलाई बजेट पारितमा सकस [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास प्रकरणको फाइल फेरि खोलेको छ। टोलीले मंगलबार एकैदिन भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्ली बजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा, तत्कालिन खरदार गोपाल कार्की तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी र धर्म प्रसाद गौतमलाई सीआईबीले पक्राउ गरेको हो। 

जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ३० लाख भन्दा बढी बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०५७ सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ मा सेवा निवृत्त हुनु अघिसम्म आर्जन गरेको सम्पत्तिमा उक्त रकमको स्रोत नभेटिएको अख्तियारको दाबी छ। 

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको प्रस्ताव फिर्ता हुनु पर्ने माग गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। जिल्ला निर्वाचन खारेज गर्ने निर्णय लोकतन्त्र विरोधी भएको उनीहरुको तर्क छ। 

प्रतिनिधि सभामा मंगलबार पनि विनियोजन विधेयकमाथि छलफलका क्रममा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिएका छन्। मंगलबार अर्थ, भूमि व्यवस्था, कानुन, कृषि र शिक्षा मन्त्रालयमा सम्बन्धित मन्त्रीले जवाफ दिए। विनियोजन विधेयकमाथिको छलफल बुधबार सकिनेछ। 

नेपाली कांग्रेस र माओवादी केन्द्रले बुधबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन्।

सत्तारुढ दलहरु नै बजेटको विपक्षमा देखिएको र आफ्नै केही सांसदले समेत विधेयकको विरोध गरेपछि दुवै दलले ह्विप जारी गरेका हुन्। संसदमा बुधबार विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ। 

नेकपा एमाले र राप्रपाले मंगलबार बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। बजेटको गोपनीयता भंग गरेको तथा सामाजिक सञ्जालमा सत्ता गठबन्धनका कार्यकर्ताले राखेका कार्यक्रम समावेश गरेको उनीहरुको आरोप छ। 

बागमती प्रदेशसभा सचिवालय जलमग्न भएको छ। मंगलबार दिउँसो परेको मुसलधारे पानी प्रांगण हुँदै सचिवलयमा छिरेको हो। वर्षाकाे पानीको उपयुक्त निकास नहुँदा सचिवालय तलाउ जस्तै बनेको थियो। 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ। माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनको आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण रोकेको बोर्डको भनाइ छ। हिस्टुनले मंगलबारदेखि १९ गतेसम्म उत्तर पुस्तिका नजाच्ने बताएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारलाई स्पष्टिकरण सोधेका छन्। अधिकारीको कार्यक्षमता माथि प्रश्न उठाउँदै मन्त्री किरातीले ९ बुँदे स्पष्टिकरण सोधेका हुन्। ७ दिन भित्र जवाफ दिन अधिकारीलाई भनिएको छ। 

चिनियाँ अर्बपति ज्याकमा नेपाल आएका छन्। विश्व प्रसिद्ध अलिबाबा ग्रुपका संस्थापक समेत रहेका ज्याक ७ सदस्यसहित नेपाल आएका हुन् । १५ दिनको पर्यटक भिसामा नेपाल आएको उनको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन। 

सरकारले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व बकर ईद अर्थात् ईद उलअजहाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार हरियाली छाएको छ। मंगलबार ५६ दशमलव ९४ अंकले बढेर नेप्से २१ सय ८६ दशमलव ३६ बिन्दुमा पुगेको छ। कारोवार रकम पनि बढेर ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ पुगेको छ। 

जापानले अर्को महिनादेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारको सूचीमा पुनः स्थापित गरेको छ। जापानले सन् २०१९ माकोरियालाई सो सूचीबाट हटाएको थियो। यसले दुई छिमेकीबीचको सम्बन्धथप सुमधुर हुने विश्वास उनीहरुको छ। 

नेपालले १४औं संस्करणको साफ च्याम्पियनसिपमा सान्त्वना जित निकालेको छ। समूह चरणबाटै बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई एक शुन्यले पराजित गरेकाे हाे। भारतमा जारी प्रतियोगितामा पाकिस्तान भने अंक विहीन रह्यो। 

Logo