केही समय अगाडी निकै चर्चा पाएको धरान–इटहरी बीचको सीमा विवाद फेरी सुरु भएको छ या भनौं फेरी बल्झिन थालेको छ। धरान र इटहरीका मेयरहरू सीमा प्रारम्भ बोर्ड राख्ने र हटाउने होडबाजिमा छन्।
दुई उपमहानगरका मेयरहरुबिच अहिले धरान र इटहरीको सीमा विवाद यतिसम्म भएको छ कि एक ठाउँमा राखेको बोर्ड अर्को ठाउँमा राख्न हतारमा हुन्छन् । एक अर्काले बोर्ड राख्ने र झिक्ने गरिरहेका छन्।
सोमबार बिहानमात्रै धरानका मेयर हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीको टोलीले धरान उपमहानगर सीमा प्रारम्भ लेखिएको बोर्ड पानीपिया क्षेत्रमा राखेको थियो। इटहरी उपमहानगरले धरानका मेयर हर्क साम्पाङले सेउती खोला नजिकै राखेको बोर्ड हटाएर त्यहाँभन्दा दक्षिणमा रहेको पानीपियामा आफ्नो बोर्ड राखेको थियो।
यसअघि गएको वैशाख दोस्रो साता दुई उपमहानगरबीचको विवाद बल्झेको थियो। धरानका मेयर साम्पाङले पानीपिया क्षेत्रमा बोर्ड राखेपछि इटहरी युवा संघका कार्यकर्ताले बोर्ड उखेलेर फ्याँकेपछि दुई नगरका मेयरबीच सामाजिक सन्जालमा युद्ध नै चलेको थियो।
त्यसपछि केही समय सुनसान जस्तै बनेको सीमा विवाद धरानका मेयर साम्पाङले सोमबार बोर्ड राखेर फेरि बल्झाएका छन्। साम्पाङको निर्देशन अनुसार सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सीमा प्रारम्भ भएको बोर्ड राखेको थियो।
नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले बोर्ड राखेर फर्केको केही घन्टापछि इटहरीको टोली पानीपिया पुगेर इटहरीको बोर्ड टाँगेको छ। यसअघि धरानको नगर प्रहरीले कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुलमा राखिएको नेपाल प्रहरीको बोर्ड पनि हटाएको थियो।
इटहरी र धरान प्रहरीले आफ्नो सीमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारि र पारि राखेका थिए।
प्रहरीको बोर्डले पनि धरान र इटहरीको सीमाबारे भ्रम सिर्जना गरेको मेयर साम्पाङले बताउँदै हटाउन भनेका थिए। उनले हटाउने भनेको केही घन्टा नबित्दै इटहरीको टोलीले उक्त बोर्ड हटाइदिएको छ।
तयस्तै इटहरीका मेयर हेमकर्ण पौडेल भने धरानका मेयर हर्क साम्पाङले संवादमा कुनैपनि चासो नदिएको आरोप लगाउछन्। अर्को तर्फ धरानका मेयर साम्पाङ भने ‘हामी इटहरीको भूमि एक इन्च पनि मिच्दैनौं। धरानको पनि मिच्न दिँदैनौं भन्दै एउटै अडान लिई रहेका छन्।
गएको वैशाखमा धरान–इटहरी सीमा छुट्याउने बोर्ड राख्न लगाएर मेयर साम्पाङले पहिलो फायर खोलेका थिए।
मेयर साम्पाङको निर्देशनमा राखिएको सीमा छुट्याउने बोर्ड राखिएको पानीपिया क्षेत्र अहिलेसम्म इटहरीको २० नम्बर वडाका रूपमा चिनिन्छ। त्यहाँभन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध मान्दै आएको छ।
सरकार मातहतको नापी विभागले जारी गरेको नक्सा भने इटहरीले दाबी गर्दै आए अनुसारको छैन। नापी विभागले जारी गरेको नक्सामा सेउतीपुलदेखि दक्षिण पानीपिया क्षेत्र धरानमै पर्ने देखाइएको छ। यसैलाई र गुगल म्यापसमेतलाई आधार मानेर धरानले आफ्नो सीमा पानीपिया भएको बताइरहेको छ।































प्रतिक्रिया