यसरी कमाएको करोडौं रकम उडाउँछन् फुटबलर एमबापे, आफ्नै कर्पोरेट प्लेनमा सवार गर्छन् [भिडियाेसहित]

यसरी कमाएको करोडौं रकम उडाउँछन् फुटबलर एमबापे, आफ्नै कर्पोरेट प्लेनमा सवार गर्छन् [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको बागडोर सम्हाल्न आएका फ्रेन्च सुपर स्टार केलियन एमबापे आधुनिक फुटबलका उदाउँदा स्टार खेलाडी हुन् । २० डिसेम्बर १९९८ मा अल्जेरियन आमा फयजा लामारी र क्यामरुनबाट बसाइँ सरेर आएका पिता विल्फ्रेड एमबापेबाट जन्मिएका केलियन एमबापे अहिले २४ वर्षका मात्रै छन् । पेरिसको बोन्डीमा श्रमिक परिवारमा बाल्यकाल विताएका उनी उक्त समय आप्रवासीका रुपमा विताएका थिए । 

उमेरले भर्खर २४ वर्ष मात्र लागेका एमबापेले दुईवटा फिफा विश्वकपको फाइनल खेलिसकेका छन् भने एउटा विश्वकपको ट्रफी जित्न सफल पनि भइसकेका छन् । फिफा विश्वकपको फाइनलमा चार गोल गर्ने एमबापे फुटबल इतिहासकै पहिलो खेलाडी पनि हुन् । श्रमिक परिवारबाट हुर्किबढेका एमबापेसँग हाल २०५.६ मिलियन यूरो भन्दा धेरै नेटवर्थ रहेको छ । फोर्ब्सका अनुसार एमबापेले वार्षिक २८ मिलियन डलरभन्दा बढी कमाउँछन् । 

एमबापे विश्वकै ठूला खेलकुद स्टार खेलाडीहरुमध्ये एक हुन् । नाइकी, हब्लोट, ईए स्पोर्ट्सजस्ता ठूला ब्रान्डहरूसँग एमबापेले जिवनभरका लागि सम्झौता गरेका छन् । ती ठुला ब्रान्डहरुसँगबाट मात्रै एमबापेले वार्षिक १५ मिलियन डलर कमाउने अनुमान छ ।
एमबापेसँग विश्वकै सबैभन्दा महंगा गाडीहरुको कलेक्सन रहेको छ । जहाँ उनीसँग फेरारी ४८८ ट्रयाक समावेस छ, जसको मुल्य नै ५ लाख २७ हजार युरोभन्दा बढी पर्नेगर्छ । यसैगरी उनीसँग फेरारी हाइब्रिड एसएफ् ९० स्टाडेल पनि रहेको बताइन्छ । उनको सङ्गग््रहमा एउटा मर्सिडीज, अडी, बीएमडब्लु, फक्सवागन टिगुआन र एउटा रेन्ज रोभर गाडी पनि रहेको छ । 

यसैगरी फ्रेन्च स्टार एमबापेले फ्रान्सको पेरिसमा एउटा सुन्दर अपार्टमेन्ट किनेका छन् । उक्त घरको मूल्य १० मिलियन रहेको आंकलन गरिएको छ । उनको घरबाट च्याम्प्स डे मार्स र एफिल टावरको दृश्य ३६० डिग्रीमा देखिने विश्वास गरिन्छ । विभिन्न रिपोर्टका अनुसार उनको घरमा १२ सुत्ने कोठा, बास्केटबल कोर्ट, एक पुस्तकालय, र डेकमा एक ज्याकुजी पनि रहेको छ । एमबापेले हवाई यात्राका लागि आफ्नौ कर्पोरेट प्लेन च्यालेन्जर ३५० को प्रयोग गर्छन । आफ्नै विमान बाहेक फ्रेन्च क्लब पीएसजीले पनि एमबापेलाई निजी प्रयोगका लागि प्लेनको व्यवस्था गरेको छ । 

एमबापेले आफ्नो करोडौं रकम घर, गाडी र प्लेन किन्नेमा मात्र खर्च गर्दैनन् उनले करोडौंको रकम विश्वभर घुम्नमा पनि उतिकै खर्च गर्न रुचाउँछन् । उनले यही वर्षको सुरुमा आफ्नो पीएसजी टोली साथी अचरफ हाकिमीसँग न्यूयोर्कको यात्रा गरेका थिए । यस्तै अर्का साथी करिम बेन्जेमासँग पनि यसैवर्ष ग्रीस घुम्न निस्केका थिए । 

विश्व फुटबलमा एमबापे फेसन ट्रेन्ड पछ्याउने फर्वार्डका रुपमा पनि परिचित छन् । एमबापेले लगाउने कपडामा मात्र होइन आफूलाई मनपर्ने जुत्तामा पनि निकै खर्च गर्न रुचाउछन् । सन् २०१९ मा, उनले एक सोरुमबाट दुई निकै महंगा स्नीकर्स जुत्ता किने जसको मूल्य मात्र लगभग १ लाख ६२ हजार रुपैंया रहेको छ ।

एमबापेले आफ्नै पैसाबाट विलासिता र भव्य जीवनशैली जिउनुका साथै अरूलाई मद्दत गर्ने कार्यमा पनि प्रयोग गर्ने गर्छन । सन् २०१८ को विश्वकप फ्रान्सले जितेपछि एमबापेले उक्त टूर्नामेंट अवधिभरबाट आएको आफ्नो सबै कमाई दान गरेका थिए । जसको कुल रकम ५ लाख डलर थियो । यसका अतिरिक्त, उनको आफ्नै फाउन्डेसन पनि रहेको छ, जसको नाम ‘इन्सपायर वाई केएम’ रहेको छ । यो फाउन्डेसनले बच्चाहरूलाई उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेगर्छ । 

६ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका एमबापे मोनाको हुँदै अहिले पीएसजीका लागि खेल्छन् । १६ वर्षको उमेरमा मोनाको आएका एमबापेले ३ वर्ष मोनाकोमै बिताएका थिए । तीन वर्षे यात्रामा एमबापेले मोनाकोका लागि २७ गोल गरेका थिए । 

यस्तै १६ वर्षको उमेरमै सिनियर टोलीमा डेब्यू गरेका एमबापेलाई ५ वर्षअघि रुस विश्वकप खेल्न टोलीमा बोलाइएको थियो । उनले रुस विश्वकपमा पनि फ्रान्सका लागि ४ महत्वपूर्ण गोल गरेका थिए । जसमा क्रोएसियाविरुद्ध फाइनल खेलमा गरेको १ गोल पनि समावेश छ । अभूतपूर्व ड्रिब्लिङ क्षमताका एमबापे असाधारण गतिका साथ उत्कृष्ट फिनिसिङका लागि चिनिने गर्छन । मोनाकोका लागि सत्र वर्षपछि लिग वानको उपाधि र रुस विश्वकपमा देखाएको अभूतपूर्व प्रदर्शनका कारण एमबापे हरेक सिजन रियल मड्रिड, म्यान्चेस्टर सिटी र पीएसजी क्लबको नजरमा परे । तर आमा फ्रान्सेली भएका कारण एमबापेले फ्रान्सकै सबैभन्दा ठूलो क्लब पीएसजीलाई आफ्नो गन्तब्य बनाए । जसका लागि पीएसजीले एमबापेलाई १८० मिलियन युरोमा किन्न सफल भयो । पीएसजीलाई आफ्नो गन्तब्य बनाएसँगै एमबापे नेमारपछि विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका थिए । पीएसजीका लागि सन् २०१७ मा डेब्यू गरेदेखि एमबापेले ६ वर्षभित्र २८२ गोल गर्दै ५ लिग वान कप, कप डे फ्रान्स, र कप डे ला जिताई सकेका छन् । 

मेसी र रोनाल्डोको १६ वर्षे एकाधिकारलाई तोड्न आएका एमबापे आफूभन्दा १४ वर्ष जेठा पोर्चुगिज खेलाडी रोनाल्डोलाई आइडल मान्छन् । एमबापे बाल्यकालदेखि नै रोनाल्डोका फोटो कोठाको भित्तामा सजाउँदै आएका छन् । 

दुई संस्करणको विश्वकप खेलेका एमबापेले १२ गोल गर्दै एक सन् २०१८ विश्कपको ट्रफी जितिसकेका छन् । विश्वकपमा गोल गर्ने मामलामा एमबापेले लेजेन्ड पेले र क्रिस्टियानो रोनाल्डोलाईपछि पारिसकेका छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी एमबापेभन्दा एक गोलले मात्रै अघि छन् । तर, मेसीले भने पाँच संस्करणको विश्वकप खेल्दै १३ गोल गरेका थिए । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज हुन् । उनको नाममा १६ गोलको रेकर्ड छ । एमबापेले यी सबै रेकर्ड सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोद्धारा संयुक्त आयोजना गरिने विश्वकपमा तोड्न सक्ने क्षमता देखाइ सकेका छन् ।   

३६ किलोमिटरको गतिमा दौडिने एमबापे रोनाल्डो र मेसीपछि सबैभन्दा धेरै पटक सुनिएको र सुनाइएको नाम हो । २४ वर्षको उमेरमै संसारकै सबैभन्दा महङ्गो खेलाडी बनेका एमबापेको क्षमतालाई बराबरी गर्न म्यानचेष्टर सिटीका अर्लिङ हल्यान्ड र रियल मड्रिडका भिनिसियस जुनियरलाई हेरिएको छ । यी तीनै खेलाडीले मेसी र रोनाल्डोको युगलाई बिर्साउदै नयाँ युगको सुरुवात गर्न सक्ने आँकलन पनि गरिएको छ । नेइमार, मोहम्मद सलाह, मेसी, क्रिस्टियानो रोनाल्डोलगायत धेरै स्टार खेलाडीहरु आफ्नो करिअरको अन्तिम चरणमा आइसकेकाले अबको युग केलियन एमबापेकै हो भन्दा फरक नपर्ला । एमबापे अहिले नै सुपस्टार खेलाडीको रुपमा चिनिइसकेका छन् । आगामी दिनमा उनी फुटबल क्षेत्रकै शिखर चुम्न सक्ने व्यक्ति बन्ने क्षमता उनीसँग यथेष्ट देखिएको छ ।
 

Logo