एकैदिनका खबर एकैपटकः ईपीएसको आन्दोलनले लियो २ युवाको ज्यान, उद्योगीलाई प्रधानमन्त्रीको आश्वासन [भिडियाेसहित]

एकैदिनका खबर एकैपटकः ईपीएसको आन्दोलनले लियो २ युवाको ज्यान, उद्योगीलाई प्रधानमन्त्रीको आश्वासन [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ। कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरुले  प्रदर्शन गरेका थिए। 

सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए। त्यसपछि भएको झडपका क्रममा घाइते भएका डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावतको मृत्यु भएको हो।

उनीहरुलाई प्रहरीको गोली लागेको आशंका गरिए पनि शरीरमा गोली भने नभेटिएको बताइएको छ। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति गठन गरेको छ।

सातै प्रदेशका मुख्यमन्त्रीकाे नौ बुँदे साझा पत्र सार्वजनिक

सातै प्रदेशका मुख्यमन्त्रीहरूले तीनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्रमा स्पष्टता ल्याउन कार्य विस्तृतीकरणमा गर्नुपर्ने परिमार्जनका लागि सबै प्रदेशका मुख्य न्यायाधिवक्ता रहेको कार्यदल गठन गर्न माग गरेका छन्। 

हेटौंडामा शुक्रबार सम्पन्न मुख्यमन्त्रीहरूको भेलाले नौ बुँदे साझा पत्र सार्वजनिक गर्दै प्रदेशहरूको बीचमा बनेका कानून र अब बन्ने कानुन तथा सङ्घ, प्रदेश र स्थानीय कानुनहरू बीचमा तादाम्यता कायम गर्न गर्नुपर्ने कार्यहरू पहिचान गरी नियमित रूपमा मुख्यमन्त्रीहरूको संयन्त्रमा पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन्।

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा विन्दु 

काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ। ३२ वडामध्ये २४ वटा वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र बाँकी वडामा तीन महिनाभित्र सबै तयारी सक्ने  महानगरको भनाई छ। 

केन्द्रीय अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले प्रथम सेवा विन्दु हुन अस्वीकार गरेपछि वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकिएको हो। 

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

सरकारले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको हो।

डेटिकेटेड फिडरको विवाद छिटो समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले डेटिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी विवाद छिटै समाधान गर्नै आश्वासन दिएका छन्। नेपाल उद्योग परिसंघको नेतृत्वमा भेट्न आएका उद्योगीहरुसँग प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।

नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता परिमार्जन गर्न कार्यदल गठन गर्ने

सरकारले नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न संयुक्त प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिवको नेतृत्वमा उक्त सम्झौता पुनर्वालोकन तथा परिमार्जन का लागि कार्यद गठन गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा संयुक्त प्राविधिक कार्यदल गठन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौंमा आउँछः खानेपानीमन्त्री यादव

खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताएका छन्। आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री यादवले द्रूतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरेका हुन्। 

उनले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले तीव्रगतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताएका छन्।

विप्लवसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न कार्यदल गठन

नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भएको भेटमा तीन बुँदे सहमति कार्यान्वय गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।

१० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन्। यो काठमाडौँ भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ।

डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित

सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ। 

सन् २०२० को निर्बाचन परिणाम उल्टाउने प्रयासमा अमेरिकी संसद् भवनमा गरेको हिंसामा आफ्ना प्रशंसकलाई उक्साउने काम गरेको ठहर गर्दै पूर्व राष्ट्रपति ट्रम्प मेन राज्यको रिपब्लिकन प्राइमरी निर्बाचनका लागि योग्य नरहने अदालतले फैसला गरेको हो। 

नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा क्लब ११ बीच प्रतिस्पर्धा हुने

नेपाल प्रो-क्लब च्याम्पियनसिपको उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा क्लब ११ बीच प्रतिस्पर्धा हुने भएको छ।  शुक्रबार वीरगञ्जको नारायणी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतको वन्डर्स क्लब नोएडालाई ४ रनले पराजित पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।

पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको नोएडाले २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो। नोएडाका लागि वंस बेदीले ४३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

Skip This
Skip This
Logo