ओलीको स्वास्थ्यमा समस्या, सत्ता गठबन्धनमा खटपट सुरु हुँदा रेशमलाई सर्वोच्चको बेवास्ता[भिडियोसहित]

ओलीको स्वास्थ्यमा समस्या, सत्ता गठबन्धनमा खटपट सुरु हुँदा रेशमलाई सर्वोच्चको बेवास्ता[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

केपी ओली अस्वस्थ्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका छन् । अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । प्रतिनिधि परिषद्को दोस्रो दिनको बैठकमा आइतबार ६ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल भएको छ । बैठकमा २ हजार ४५४ जना प्रतिनिधि सहभागी छन्।

कतारका अमिर औपचारिक भ्रमणमा नेपाल आउँदै, विपीन जोशीको रिहाइको एजेण्डा नेपालले राख्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनले आइतबार एक सार्वजनिक कार्यक्रममा बताएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते पहिलोपटक नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । सो क्रममा भेटवार्ताका साथै केही महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर पनि हुनेछन् ।

पार्टीको विधान नमान्ने सांसद हटे हुन्छः रञ्जीता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले ५ जना सांसद फर्केर नआउने भए हट्न निर्देशन दिएकी छन् । पार्टी कामका सिलसिलामा धनगढी आएकी चौधरीले पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको विधान नमान्नेलाई हटाउने चेतावनी दिएकी हुन् । उनले आफ्ना ५ जना सांसदलाई सांसदबाट हट्ने चाहना हो भने आफूले त्यसको स्वागत गर्ने बताइन्। पार्टीमा विवाद भएपछि ७ जना सांसदमध्ये ५ जना तत्कालिन मुख्यमन्त्री कमलबहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए। अहिले उनीहरु पार्टीका संरक्षक रेशम चौधरीको पक्षमा छन् ।

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे जिम्मेवारीबाट अलग भएको घोषणा
राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी छन्। उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

रेशम चौधरीले दायर गरेको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । आइतबार चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा रहेको मुद्दा आजपनि हेर्न नभ्याइनेमा परेको हो। निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए।

जसपा लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो
लुम्बिनी प्रदेश सरकार गठनका बेला भएको सहमतिअनुसार भागबन्डा नमिलाएको भन्दै जनता समाजवादी पार्टी सरकारबाटै बाहिरिएको छ । चैत २५ मा कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले आइतबार राजीनामा दिएका हुन् । सुरुमा जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट बाहिरिएको हो । तर, समर्थन भने कायमै रहने जसपाले जनाएको छ । जसपाले समर्थन फिर्ता लिएपनि ८७ सदस्यीय प्रदेशसभामा ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । तर, यहाँ नाउपा समेत असन्तुष्ट छ । नाउपाले पनि यो कदम उठाएको खण्डमा हालै गठित जोखबहादुर महरा नेतृत्वको सरकार धरापमा पर्नेछ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई निर्वाचन आयोग स्पष्टीकरण सोध्यो
निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश गरेको छ । आयोगमा दर्ता कायम रहेका एक सय १८ दलमध्ये आर्थिक वर्ष २०७९-८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधिभित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये प्रतिवेदन सार्वजनिक नगर्ने २१ दललाई स्पष्टीकरण सोधेको हो ।

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दायर
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले त्यति नै बिगो कायम गरी सोही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरेको हो । अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानविन गरेको उल्लेख गरेको छ। उनी पेमेण्ट गेट(वे सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।

वीरेन्द्र ताल सामान्य बन्यो
गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ । आज विहान उत्तरी गोरखाको मनास्लु क्षेत्रस्थित वीरेन्द्र तालमा हिमपहिरो खस्दा त्यहाँको पानी ‘ओभर फ्लो’ हुँदा चुमनुव्री गाउँपालिकास्थित वीरेन्द्र तालको पानी आइतबार बिहान ओभर फ्लो हुँदा तटीय क्षेत्रमा बाढी आएको थियो । बाढीले एउटा काठेपुल बगाएको थियो । तर अहिले अवस्था निकै सामान्य रहेको र कोही पनि आत्तिनुनपर्ने अवस्था नरहेको जानकारी प्रात्त भएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने
त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने भएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दीमुक्त विश्वविद्यालय बनाउन पहल थालेका हुन् । त्यसका लागि विभिन्न विद्यार्थी संगठनहरूसँग छलफल गर्ने, उनीहरूबाट तालाबन्दी नगर्ने प्रतिबद्धता गराउने जस्ता कार्य अघि बढाएका छन् ।

नेपालीहरुले महिनामै सवा एक खर्बभन्दा बढीको मालवस्तु प्रयोग गरे
सरकारी तथ्यांकका अनुसार नेपालीहरुले महिनामै सवा एक खर्बभन्दा बढीको मालवस्तु प्रयोग गर्ने गरेकोे देखाएको छ । नुनदेखि सुनसम्म अधिकांश वस्तुको प्रयोगमा नेपालीहरुको परनिर्भरता उच्च छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा मुलुकबाट ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ । यसलाई आधार मान्ने हो भने मासिक औसतमा १ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बाहिरिन्छ । तर, नेपाल भित्रिने रकम ९ महिनामा १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ मात्र रहेको छ । आयात र निर्यात दुवैमा कमी आउँदा यस वर्ष कूल वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ ।

आइतवार १२ दशमलव २९ अङ्कले बढ्यो शेयर बजार
हप्ताको पहिलो कारोवार दिन शेयर बजार बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजार परिसूचक नेप्से आइतवार १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ । आइतवार बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

भारतीय मसला एभरेस्ट र एमडीएचले क्यान्सर निम्त्याउने
भारतीय मसला ब्रान्ड एभरेस्ट र एमडीएचमा क्यान्सर गराउने रसायन रहेको जिकिर गरिएको छ । हङकङको खाद्य सुरक्षा विभागले एभरेस्ट र एमडीएचका मसलामा क्यान्सर गराउने रसायन एथिलिन अक्साइड पाइएको भन्दै त्यसको प्रयोग नगर्न उपोभक्तालाई सुचित गरेको हो । हङकङमा यसको खरिद बिक्रीमा समेत प्रतिबन्ध लगाइएको छ । यता सिंगापुरमा पनि एभरेस्टको माछा मसला फिर्ताका लागि निर्देशन दिइएको छ ।

दीपेन्द्रसिंह ऐरीको जर्सी १ लाख ४० हजारमा बिक्यो
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकामा सबैभन्दा बढी मूल्यमा बिक्री भएको छ । अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरेको अक्सनमा दीपेन्द्रको जर्सी १ हजार ५० डलर अर्थात् १ लाख ४० हजार नेपाली रुपैयाँमा बिकेको हो । दीपेन्द्रको जर्सी क्रिस्टल कँडेलले किनेका हुन्। क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गर्ने क्रममा दीपेन्द्रको जर्सी अक्सनमा राखिएको थियो। दीपेन्द्रले गत साता ओमानमा भएको एसीसी प्रिमियर कप क्रिकेटमा एकै ओभरमा ६ छक्का हानेर कीर्तिमान बनाएका थिए।

Logo