रास्वपाका मिलन लिम्बू लागे साग व्यवसायतिर, काठमाडौं महानगरद्वारा सीप मेला सुरू[भिडियोसहित]

रास्वपाका मिलन लिम्बू लागे साग व्यवसायतिर, काठमाडौं महानगरद्वारा सीप मेला सुरू[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरे
इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् । उनले भने, ‘हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’ उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्ना लागि राजनीति सेवा र जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेसा हुने उल्लेख गरेका छन् । इलाममा रास्वपाले हार मात्रै व्यहोरेन, उम्मेदवार मिलन लिम्बुको जमानत नै जफत भएको छ ।

प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएः बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । बुधवार ् एक कार्यक्रममा बोल्दै उनले निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरेका छन् । उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिएका छन् ।

संघीय संसद्को बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी
सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी गरेको छ । आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । उनले बजेट अधिवेशन भएपनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे । संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको पनि बताए ।

उपनिर्वाचनमा आफूले पाएको मतले राज्य सञ्चालकहरु झस्किएको डकेन्द्र सिंह थेगिमको टिप्पणी
इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मतले राज्य सञ्चालकहरु झस्किएको टिप्पणी गरेका छन् । उनले बुधबार इलाममा पहिचान पक्षधरले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको र राज्य सञ्चालकहरु झस्किएको बताएका हुन् । पहिचानविरुद्ध बोल्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनले एकल पहिचानवादीको संज्ञा पनि दिए ।

भाजपाले नेपालका दललाई लोकसभा निर्वाचन अवलोकन गर्न निम्तो पठाए
भारतीय जनता पार्टी भाजपाले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालका पाँच दललाई निम्तो पठाएको छ । सोहीअनुसार आज नेपालबाट नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा. जयकान्त राउत भारत प्रस्थान गरेका छन् । उनीहरुलाई चुनावी प्रक्रिया र भाजपाको अभियानकाबारेमा जानकारी गराइनेछ । भारतमा अहिले लोकसभाको निर्वाचन चलिरहेको छ । विभिन्न सात चरणमा हुने निर्वाचनअन्तर्गत अहिलेसम्म दुई चरण सम्पन्न भइसकेको छ ।

श्रमाधान सेवा सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको छ । मजदुर दिवसको अवसर पारी श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले श्रमाधान सेवाको सुरुवात गरेका हुन् । उनले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको बताए । साथै, सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने फोन नम्बर समेत सार्वजनिक गरेको छ ।

काठमाडौंमा सीप मेला सुरू
काठमाडौंमा सीप मेला सुरू भएको छ । टुँडिखेलमा सञ्चालन गरिएको उक्त मेला काठमाडौं महानगरपालिकाले आयोजना गरेको हो । महानगरका अनुसार ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने उद्देश्यसहित मेला सुरू गरिएको हो । मेलामा १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिइनेछ ।

कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने तयारी गर्दै
सर्वोच्च शिखर सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने तयारी गरेका छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । करिब २८ जनाको आरोही समूहसँगै उनी सगरमाथा आरोहण गर्न लागेका हुन् । ५४ वर्षीय उनले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमानी तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।

पशुपतिस्थित विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने
पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । विशेष अदालतले जलहरी प्रकरणमा सफाइ दिएसँगै उनले कोषमा पुगेर पदभारपछि यस्तो निर्णय गरेका हुन् ।

अमेरिका विदेशमन्त्री ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन् । उनले इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध रहेको र युद्धविरामले बन्धकहरूलाई घर फर्काउन वातावरण बनाउने बताएको खबरमा उल्लेख छ । तर ,हमासकै कारण युद्धविरामको वातावरण नबनेको उनको भनाइ छ ।

नेपाल वेस्ट इन्डिज ‘ए’विरुद्ध तेस्रो खेलमा पनि पराजित
टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु टोली नेपाल ७६ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित १९।२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमै समेटिएको हो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । योसँगै शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।

Logo