रविलाई बोल्न दिँदा ओलीलाई झम्टिए कांग्रेस सांसदहरुले, सन्दीप विश्वकप खेल्न जाँदै[भिडियाेसहित]

रविलाई बोल्न दिँदा ओलीलाई झम्टिए कांग्रेस सांसदहरुले, सन्दीप विश्वकप खेल्न जाँदै[भिडियाेसहित]

केन्द्रबिन्दु
28
Shares

सरकार गृहमन्त्री माथि छानबिन गर्न तयार नभएपछि कांग्रेसले दुवै सदन अवरुद्ध गर्यो
आफूले माग गरेअनुसार सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउन सरकार तयार नदेखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवै सदन अवरुद्ध गरेको छ । दलहरूबीच सहमतिको प्रयत्न भएको भन्दै बिहीबार ११ बजेलाई तय भएको संसद् बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो । तर, अन्तिममा गृहमन्त्री लामिछानेको नाम उल्लेख पनि नगर्ने र टालटुले समिति गठन गर्न खोजेको भन्दै संसद् अवरुद्धको सिलसिला जारी रहने अडानमा कांग्रेस पुगेको हो । सोहीअनुसार बैठक नै बस्न सकेन ।

रवि लामिछानेले संसदमा बोल्न नदिएको रिस मिडियामाथि पोखे
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बोल्न नदिएको रिस मिडियामाथि पोखेका छन् । बिहीवारको बैठकमा गृहमन्त्री लामिछाने बोल्ने तयारीस्वरुप नेताहरु छलफलमा जुटेका थिए । तर, सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सरकार तयार नदेखिएपछि कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध जारी राख्ने निर्णय गरेपछि उनले आक्रोश पोखेका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ?’

दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक छः माधवकुमार
बिहीबार मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक भएको बताएका छन् । जननेता मदन भण्डारीको सत्यतथ्य बाहिर ल्याउन समिति गठन गरेपनि अझै सत्यतथ्य आउन नसकेको बताएका उनले केपी ओलीको नेतृत्वमा छानबिन कमिटीमा पनि प्रश्न उठाए । दुर्घटनाको अन्तिम साक्षी अमर लामाको समेत हत्या रहस्यमय ढंगले भएको उनको भनाई छ ।

राष्ट्रपतिले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको तयारी चलिरहे पनि समय भने तय भइसकेको छैन । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । नेपाल प्रशासन सेवा अन्तरगत राजपत्राकिंत विशेष श्रेणीको पदमा लोकनाथ पौडयललाई र नेपाल कृषि वन सेवा समूह अन्तरगतको राजपत्राकिंत विशेष श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो । साथै नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा डा. लेखनाथ शर्मा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का काफ्लेलाई नियुक्ति गर्ने निर्णय पनि भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाए
विपक्षी सांसदहरूको नाराबाजीबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । बैठक सुरू हुने बितिक्कै प्रमुख प्रतिपक्षी कांग्रेस र नागरिक उन्मुक्तिको रेशम पक्षका ४ सांसदले विरोध जनाउँदै नाराबाजी गरेका थिए। तर, उनलाई एमालेका ११, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी गरी २८ जनाले मतदान गरेका हुन् । यसअघि एमाले तयार नहुँदा पटकपटक बैठक बोलाउँदा पनि विश्वासको मत लिन पाएका थिएनन् ।

बागमती प्रदेशको विषयगत समिति सभापति चयन प्रक्रिया अघि बढ्यो
बागमती प्रदेश सभाका विषयगत समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । बिहीबार समितिमा रहने सदस्यहरुको नामावली प्रकाशन भएको छ । सभामुख भुवनकुमार पाठकले सहमतिबाटै सभापतिहरुको टुंगो लगाउने प्रयास गरिरहेको जनाएका छन् । उनका अनुसार ४ जेठमा सभापति पदमा मनोनयन दर्ताको कार्यक्रम छ भने ५ गते सभापति चयन हुनेछन् । त्यसपछि ६ जेठमा प्रदेशसभा बैठकबाट सभापतिहरुको नाम अनुमोदन गराउने तयारी रहेको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्रीले सरकारी निवास खाली नगर्दा हालका मुख्यमन्त्री कार्की निजी निवासमै बस्न बाध्य
कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की वैशाख २७ गते मुख्यमन्त्री बनिसकेका छन् । एमाले–माओवादीका ५२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले वैशाख ३१ मा विश्वासको मत पाइसकेका छन् । तर, निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवास छाड्न आनाकानी गरेका छन् । मुख्यमन्त्रीका लागि विराटनगरस्थित कोशी प्रोजेक्टमा निवासको व्यवस्था गरिएको छ । निवर्तमान मुख्यमन्त्रीले निवास खाली नगर्दा मुख्यमन्त्री हिक्मत कार्की भने पहिलेदेखि बस्दै आएको निजी निवासमा बस्दै आएका छन् ।

मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्ति माथी प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै विज्ञप्ति जारी
राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएका छन् । आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

डा. गोविन्द केसीले बिना उपलब्धि अनसन तोडे
पशुपतिको मृगस्थलिमा २९ बैशाखदेखि २२औँ पटक अनसन सुरु गरेका डा. गोविन्द केसीले बिना उपलब्धि अनसन तोडेका छन् । माओवादी द्न्दको क्रममा पीडित बनेकाहरूको हातबाट जुस खाएर उनले अनसन तोडेका हुन् । स्वाथ्यमा समस्या देखिएपछि उनलाई बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । अस्पतालमै उनले बिहीबार अपराह्न पत्रकार सम्मेलन गरेर अनसन तोडेका हुन् ।

विहिबार शून्य दशमलव ७९ अङ्कले शेयर बढ्यो
शेयर बजार परिसूचक नेप्से विहिबार शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ । विहिबार माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । विहिबार तीन सय १५ वटा कम्पनीको ८२ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त
युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ । ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनिमाथि आक्रमण भएको हो। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको र सोधपुछ जारी राखेको जनाएको छ ।

सन्दीपलाई विश्वकपमा सहभागी गराउन (क्यानले आवश्यक पहल सुरु गर्यो
उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमति पत्र लेख्ने तयारी थालेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जनाएका छन् । स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् । रोहितकुमार पौडलको कप्तानीमा रहेको टोली अहिले अमेरिकामा अभ्यास खेलहरु खेलिरहेको छ ।

Logo