को थिइन् महारानी एलिजाबेथ द्वितीया ?

को थिइन् महारानी एलिजाबेथ द्वितीया ?

केन्द्रबिन्दु
6
Shares

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको छ । उनले ९६ वर्षको उमेरमा स्कटल्याण्डमा अन्तिम सास फेरेकी हुन् । विगत ७० वर्षदेखि उनले बेलायतको सिंहासन सम्हालीरहेकी थिइन् । उनले बेलायती सिंहासनमा सबैभन्दा लामो शासन गर्ने कीर्तिमान पनि राखेकी छिन् । सन् १९५२ मा बेलायतका राजा जर्ज छैठौंको मृत्युपछि, एलिजाबेथ द्वितीयाले विश्वको सबैभन्दा बलियो र प्रसिद्ध शाही परिवारको नेतृत्व लिएकी थिइन् । जुन २०२२ मा महारानी एलिजाबेथको शासनकालको ७० वर्ष पूरा भएको थियो । आउनुहोस्, उनको जीवनयात्रामा चर्चा गरौँ‍-

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको जन्म २१ अप्रिल १९२६ मा भएको थियो । उनको पूरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर हो । राजा जर्ज पाँचौंको उत्तराधिकारी राजा जर्ज छैठौं, महारानी एलिजाबेथ द्वितीयका पिता थिए । एलिजाबेथले घरमै पढाई गरिन् । एलिजाबेथ घरमा निजी रूपमा शिक्षित थिइन् । रानी एलिजाबेथ द्वितीयको जीवनीका अनुसार, उनको बाल्यकालदेखि नै उनी जनावरहरू, विशेष गरी घोडा र कुकुरहरूप्रति मोहित थिइन् । जनावरहरु प्रतिको उनको माया अहिलेसम्म अडिग थियो ।

जब महारानीले भनेकी थिइन् “मेरो जीवन तपाईहरुकोे सेवामा समर्पित”
राजकुमारी एलिजाबेथको रूपमा, उनले आफ्नो २१ औं जन्मदिनमा पहिलो पटक राष्ट्रलाई सम्बोधन गरकी थिइन् । उनको भाषण केप टाउनबाट रेडियोमा प्रसारण गरिएको थियो । उनले आफ्नो जीवन छोटो या लामा जस्तो भएपनि, आफू सधैं जनताको सेवामा समर्पित रहने घोषणा गरेकी थिइन् ।

महारानी एलिजाबेथ द्वितीयाको जन्म २१ अप्रिल १९२६ मा भएको थियो । त्यसबेला उहाँको हजुरबुबा जर्जको शासन थियो। उनका बुबा अल्बर्ट जो जर्ज छैठौँ को रूपमा चिनिन्छन्,उनी जर्ज पाँचौका दोस्रो छोरा थिए । उनकी आमा एलिजाबेथ, डचेस अफ योर्क थिइन् । जो पछि एलिजाबेथ भनेर चिनिइन् । त्यसपछि महारानी एलिजाबेथ लाई एलिजाबेथ द्वितीया भनेर चिनिन थालियो । उनकी बहिनी राजकुमारी मार्गरेट र उनलाई उनकी आमा र एक शिक्षकले घरमै पढाएका थिए । सन् १९५० मा, उनकी मामाघरकी हजुरआमा क्रफोर्डले एलिजाबेथ र उनकी बहिनीको बारेमा द लिटिल प्रिन्सेस नामक जीवनी लेखेकी थिइन् । यसैमा महारानी एलिजाबेथले घोडा र घरेलु कुकुरहरू धेरै मन पराउने उल्लेख गरिएको थियो । उनी धेरै अनुशासित र जिम्मेवार स्वभावकी थिइन् । यसमा उनकी काकाकी छोरी मार्गरेट रोड्सले उनलाई एक चुलबुले सानो केटी तर धेरै संवेदनशील र कोमलको रूपमा वर्णन गरेकी छिन् ।

पिताको मृत्युपछि महारानी बनिन्
सन् १९३४ मा राजकुमारी एलिजाबेथको प्रिन्स फिलिपसँग भेटघाट भएको थियो । त्यतिबेला उनी १३ वर्षकी मात्र थिइन् । फिलिप एक ग्रीक राजकुमार थिए जसको परिवारलाई सन् १९२२ मा देशबाट निष्कासन गरिएको थियो । त्यतिबेला उनी शिशु थिए । रानी एलिजाबेथ द्वितीयाले सन् १९४७ मा राजकुमार फिलिपसँग विवाह गरिन् । उनीहरुको विवाहको अवसरमा बेलायतमा निकै ठूल उत्सव मनाइएको थियोे । विवाहपछि राजकुमार फिलिपले बेलायती शाही परिवारको कामकाज सम्हाल्न थाले । सन् १९५२ मा एलिजाबेथ र उनका पति प्रिन्स फिलिप केन्याको भ्रमणमा हुँदा एलिजाबेथका पिता राजा जर्ज छैठौँको मृत्यु भयो । पिताको मृत्युको खबर पाएपछि भ्रमण अधुरो छोडेर उनी बेलायत फर्किइन् । रानी एलिजाबेथ द्वितीया आफ्नो बुबाको मृत्युको समयमा मात्र २५ वर्षकी थिइन् । पिताकै मृत्युको दिन एलिजाबेथ बेलायतको महारानीमा नियुक्त भइन् । पछि सन् १९५३ जुन २ मा उनको औपचारिक राज्याभिषेक भएको थियो । त्यसबेलादेखि हालसम्म उनी बेलायतकी महारानीका रूपमा सत्तामा थिइन् । उनको शासनकालमा अहिलेसम्म १५ प्रधानमन्त्रीले उनीसँग काम गरिसकेका छन् । 

एलिजाबेथ द्वितीय युनाइटेड किंगडम, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड, जमैका, बार्बाडोस, बहामास, ग्रेनाडा, पपुवा न्यू गिनी, सोलोमन टापु, टुभालु, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्स, बेलीज, एन्टिगुआ, बारबुडा, सेन्ट किट्स र नेभिसकी महारानी थिइन् । यसबाहेक उनी राष्ट्रमण्डलका ५४ राष्ट्र र क्षेत्रको प्रमुख पनि थिइन् । बेलायती महारानीको रूपमा, उनी अंग्रेजी चर्चको सर्वोच्च गभर्नर र कमनवेल्थका सोह्र स्वतन्त्र सार्वभौम राज्यहरूको संवैधानिक रानी थिइन् ।

जीवनका कठिनाइहरूमा अडिग रहने शाहसी महारानी 
उनको शासनकालमा उनी ठूला कठिनाइहरूबाट पनि डराइनन् । प्रधानमन्त्री मोर्गन थ्याचरसँग धेरै विषयमा उनको मनमुटाव रह्यो, तर पनि उनले सत्ता चलाइन् । सन् १९६६ मा साउथ वेल्सको एबरफान कोइला खानीमा गएको पहिरोमा एक सयभन्दा बढी बालबालिकाको घटनास्थलमै मृत्यु हुँदा उनले त्यहाँको भ्रमण स्थगित गरेकी थिइन् जसका लागि उनले आलोचनाको सामना गर्नुपरेको थियो । यो दुर्घटनाको केही दिनपछि उनी त्यहाँ पुगिन् । उनकी बहिनी राजकुमारी मोर्गेटले सम्बन्धविच्छेदकसँग विवाह गर्दा पनि उनी आलोचनाको सिकार भएकी थिइन् । 

बेलायतको शाही परिवारमा प्रिन्स चार्ल्स र डायनाको विवाह र त्यसपछि डायनाको मृत्यले बेलायत मात्रै नभएर उनले सिंगो विश्वको आलोचना सहनुपरेको थियो । डायनाको मृत्युको आरोप शाही परिवारमा पनि आएको थियो, तर उनले हार मानिनन् र सार्वजनिक रूपमा आफ्नो शोक व्यक्त गरिन् । प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्कलले शाही कर्तव्यहरूबाट हट्ने निर्णय गर्दा पनि उनले उनीहरूलाई शाही कर्तव्यहरूबाट फिर्ता लिनुका साथै सबै ‘रोयल हाईनेस–जस्ता पदहरू’ फिर्ता लिएकी थिइन् ।

शासनकालमा भए धेरै परिवर्तन 
एलिजाबेथको शासनकालमा युनाइटेड किंगडममा धेरै महत्त्वपूर्ण परिवर्तनहरू भए, जस्तै ब्रिटिश उपनिवेशबाट अफ्रिकाको स्वतन्त्रता, बेलायतको संसदको शक्तिलाई वेल्स, स्कटल्याण्ड, इङ्गल्याण्ड र आयरल्यान्डको संसदहरूमा बाँड्ने आदि । आफ्नो शासनकालमा उनले विभिन्न युद्धहरूमा आफ्नो राज्यको नेतृत्व गरिन् । 

वर्षमा दुईओटा जन्मदिन मनाउँथिन्
सन् २०२२ को जुनमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक भएको ७० वर्ष पुरा भएको छ । महारानीले सन् १९५३ जुन २ मा बेलायतको राजगद्दी सम्हालेकी थिइन् । राज्याभिषेकसँगै उनी बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत राष्ट्रमण्डलको शासक बनिन् । यससँगै उनले दुईवटा जन्मदिन मनाउने अधिकार पनि प्राप्त गरिन् । उनको वास्तविक जन्मदिन २१ अप्रिल हो, तर राज्याभिषेक पछिको दोस्रो जन्मदिन आधिकारिक जन्मदिनको रूपमा विशेष मानिन्छ । जुन १७ को जन्मदिन वार्षिक परेड र बेलायतभरका मानिसहरूको साथ मनाइन्छ । अप्रिल २०२२ मा उनले आफ्नो ९६ औं जन्मदिन मनाएकी थिइन् ।

एलिजाबेथको नेपाल भ्रमण
महारानी एलिजाबेथ नेपालप्रति सद्भाव राख्थिन् । ब्रिटिश गोर्खाका कारण नेपाल र बेलायतबीचको मित्रता विशेष रहेको छ । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो मुलुक बेलायत हो । सन् १८१६ मा नेपाल र भारतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धिपछि नेपालीहरू ब्रिटिश सेनामा भर्ती हुन थाले । भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सम्झौता भयो । सोही बमोजिम नेपालीहरू बेलायती गोर्खा सेनामा भर्ती हुँदै आएका छन् । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले सन् १८५० मा बेलायत भ्रमण गरेपछि नेपाल–बेलायतबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ । यस क्रममा सन् १९६० र १९८६ मा महारानी एलिजाबेथले नेपालको दुई पटक भ्रमण गरेकी थिइन् । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको पालामा एलिजाबेथको राजकीय भ्रमण भएको थियो ।

गत अक्टोवरदेखि स्वास्थ्य समस्यासँग लडिरहेकी थिइन् एलिजाबेथ 
उल्लेखनीय कुरा के छ भने हाल महारानी एलिजाबेथ कतै जान असमर्थ थिइन् । त्यसैले उनी लण्डनको बकिङ्घम प्यालेसको सट्टा स्कटल्याण्डको बालमोरल क्यासलमा महत्वपूर्ण भेटघाट गरिरहेकी थिइन् । महारानी एलिजाबेथ गत वर्ष अक्टोबरदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । यस वर्षको सुरुमा महारानी एलिजाबेथले आफ्नो शासनकालको ७० औं वार्षिकोत्सव मनाएकी थिइन् ।

एक दिनअघि मात्र लिज ट्रससँग भेट 
महारानी एलिजाबेथ द्वितीयाले मंगलबार बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रससँग भेट गरेकी थिइन् । त्यसपछि उनको स्वास्थ्यको चिन्ता केही कम भएको थियो । उनी पीएम लिजसँग हात मिलाउँदै मुस्कुराइरहेकी थिइन् । बुधवार प्रिभि काउन्सिलको वरिष्ठ मन्त्रीको भर्चुअल बैठकमा अन्तिम क्षणमा उनी अनुपस्थिति थिइन् जसले उनको स्वास्थ्यको बारेमा चिन्ताजनक स्थिती सिर्जना गरेको थियो ।

गत वर्ष गुमाएकी थिइन् पतिको साथ
प्रिन्स फिलिप र उनीहरूका चार्ल्स, एनी, प्रिन्स एन्ड्र्यू र प्रिन्स एडवड गरी चार सन्तान छन् । उनका पति प्रिन्स फिलिपको ९ अप्रिल २०२१ मा ९९ वर्षको उमेरमा मृत्यु भएको थियो । प्रिन्स फिलिप एडिनबर्गको ड्यूकको रूपमा पनि चिनिन्थे । उनी र महारानी एलिजाबेथको साथ करिब ७३ वर्ष रह्यो ।

 

Skip This
Skip This
Logo