युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए ।
चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उहाँका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए।
अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । सङ्घीय जाँच ब्यूरोका अधिकारीहरूले ज्याकमाथि अनुसन्धान थालिएको बताएका छन् भने महान्याधीवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन्। अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ ।





























प्रतिक्रिया