काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले कालापानी क्षेत्रमा नेपालीहरूको आवत जावतमा कडाइ गरेको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवत जावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले रोक लगाएको हो । पहिलेभन्दा एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएर सुरक्षाकर्मी तैनाथ गरेको छ ।
त्यस्तै संसदीय समितिले कोभिड–१९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाइन कक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।
महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएकाले पुरुष हिंसा बढेको सांसदहरुले बताएका हुन् ।
त्यस्तैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियतलाई अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । बीबीसीमा उल्लेख गरिएको समाचारअनुसार राष्ट्रपति ट्रम्पले चीनप्रति कडा नीति अँगाल्ने क्रममा हङकङकाे विशेष अधिकार कटौती गर्ने पछिल्लो कदम चालेका हुन् ।
नीजि क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा व्यवसायीहरुको दौडधूप बढेको छ । साउन २६ र २७ गतेका लागि चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधूप बढेको हो । विधान अनुसार महासंघको अध्यक्ष स्वतः वरिष्ठ उपाध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक बन्न लागेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया