नेपाल आयल निगम नाफामादेखि भारतीय न्यूज च्यानल खुल्लासम्म (भिडियोसहित)

नेपाल आयल निगम नाफामादेखि भारतीय न्यूज च्यानल खुल्लासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल आयल निगमले चालू आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्ष सकिन केही समय बाँकी रहेकाले अझै नाफा बढ्न सक्ने अनुमान गरिएको छ । गत वर्ष निगमले ८ अर्ब ७५ करोड नाफा कमाएको थियो ।

त्यस्तै निजी क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । गत चैत अन्तिम साता हुने भनिएको महासंघको चुनाव कोरोनाका कारण सरेर साउन २५ र २६ गतेका लागि तय भएसँगै चुनावी सरगर्मी बढेको हो ।

सत्तारुढ नेकपाको आन्तरिक विवाद चलिरहेका बेला दुई अध्यक्षको मन मिलेको संकेत सार्वजनिक भएको छ । गत बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै पार्टी एकता पूरा गरेरै छाड्ने उद्घोष गर्नु र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला पुगेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन अन्तिम समयसम्म धैयता राख्ने अभिव्यक्ति दिएसँगै त्यस्तो संकेत देखिएको हो ।

त्यस्तैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर ‘पार्टीभित्र कोही राष्ट्रघाती र कोही महान राष्ट्रवादी नभएको’ अभिव्यक्ति दिएसँगै नेकपामा बहस सुरु भएको छ । उनको यो अभिव्यक्तिले फेरि एकपटक नेकपाभित्र ‘को राष्ट्रवादी र को राष्ट्रघाती ?’ भन्ने बहस सुरु भएको हो ।

केवल अपरेटरहरूले चार वटा भारतीय न्यूज च्यानलबाहेक अरुको प्रशारण खुला गर्ने निर्णय गरेका छन् । आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द गरी अन्य न्यूज च्यानलहरु खोल्ने निर्णय गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo