संसारकै अनौठो परिवारः नौ जना सदस्यको जन्मदिन एकैदिन

संसारकै अनौठो परिवारः नौ जना सदस्यको जन्मदिन एकैदिन

केन्द्रबिन्दु
0
Shares

सामान्यतया माता–पिता तथा सन्तानको जन्मदिन अथवा एकै परिवारका दुई सदस्यहरुको जन्मदिन एकै दिन परेको हामीले सुन्दै र देख्दै आएका छौँ । अमेरिकामा सन् १९५२ देखि १९६६ को बीचमा २० फेब्रुअरीमा जन्मेका कमिन्स परिवारका पाँच जना सदस्यले गिनीजबुकमा रेकर्ड राखेको कतिपयलाई अवगतै होला । आज हामी यस्तो परिवारको बारेमा कुरा गर्दैछौँ जहाँ एकै परिवारका ९ जना सदस्यको जन्मदिन एकैदिन पर्ने गर्दछ । सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । 

पाकिस्तानको लारकानामा बसोबास गर्ने यो परिवारले अमेरिकाको कमिन्स परिवारलाई उछिन्दै गिनीज बुकमा एउटा विशेष र अनौठो कीर्तिमान राखेको छ । यो परिवारका सबै ९ सदस्यको जन्मदिन अगष्ट १ मा पर्छ । सबैले आफ्नो जन्मदिन एकैदिन मनाउँछन् ।

परिवारमा आमिर अली, उनकी श्रीमती खुदेजा र सात सन्तान छन्। सात सन्तानमध्ये ससुई–सपना जुम्ल्याहा छोरी तथा आमिर–अम्बर र अम्मार–अहमर गरी तीन जोडी जुम्ल्याहा सन्तान छन् । यसबाहेक सिन्धु नामको अर्की छोरी पनि छिन् । उनीहरु सबैको उमेर १९ देखि ३० वर्षसम्म रहेको छ ।

सबैभन्दा चाखलाग्दो कुरा के छ भने यी सात सन्तानसँगै उनीहरुका माता–पिताको जन्मदिन पनि १ अगस्टमा पर्छ । सबै फरक–फरक वर्षहरूमा जन्मे पनि महिना र दिन भने एउटै पर्छ। संसारको कुनै पनि परिवारमा यति धेरै सदस्यहरूको जन्मदिन सँगै पर्दैन। आमिर र खुदेजाका लागि यो मिति अझ विशेष छ किनकी अगस्ट १ तारिख उनीहरुको विवाहको वर्षगाँठ पनि हो ।

अहिले पाकिस्तानको यो अनौठो परिवारको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

Logo