अमेरिकाको अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा फेला

अमेरिकाको अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको कोलोराडो राज्यको एक अन्त्येष्टि गृहमा एक सयभन्दा बढी सडेको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

फ्रेमोन्ट काउन्टीस्थित पेनरोजमा रहेको रिटन टु नेचर फ्युनरल होममा बुधबार ती शव फेला परेका थिए । प्रहरीले ‘हरित’ अन्त्येष्टि सञ्चालकको भण्डारणलाई सूक्ष्मरूपमा अनुसन्धान गरेर अन्त्येष्टि गृहभित्रबाट कम्तीमा एक सय १५ सडेको शव फेला पारेको थियो ।

फ्रेमोन्ट काउन्टी सेरिफ एलन कुपरले पत्रकार सम्मेलनमा भने, “पछिल्लो ४८ घन्टामा मेरो कार्यालयले अत्यन्त डरलाग्दो खोज गरेको छ, अनुचितरूपमा शवहरू भण्डार गरिएको अन्त्येष्टि गृहको अवस्था भयावह थियो ।”

उनका अनुसार यस क्षेत्रका समुदायले धेरै प्रश्न र चिन्ता व्यक्त गरेका छन् । विशेषगरी आफ्ना प्रियजनलाई उक्त अन्त्येष्टि गृहमा सुम्पिएका परिवारले बढी चिन्ता व्यक्त गरेका छन् । उनले भने, “हाम्रो प्राथमिकता र ध्यान ती परिवारप्रति छ ।”
    
फ्रेमोन्ट काउन्टी कोरोनर र्यान्डी केलरले पनि भने, “उक्त गृहमा प्रवेश गरेपछि हामीले अनुचितरूपमा राखिएका एक सयभन्दा बढी शव फेला पार्यौँ जसले भयानक दृश्य बनायो ।”

केलरका अनुसार काउन्टीमा आपत्कालीन सङ्कटकाल घोषणा गरिएको छ । उक्त घटना सम्बन्धमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए । उनका अनुसार अनुसन्धान अहिले प्रारम्भिक अवस्थामा छ र अनुसन्धान प्रक्रिया लामो हुनेछ । 

अनुसन्धान र उक्त अन्त्येष्टि गृहको सफाइका लागि राज्यबाट सहयोग उपलब्ध गराउन कोलोराडोका गभर्नरले बिहीबार राति आपत्कालीन विपत्तिको घोषणा गरे । -सिन्ह्वा

Skip This
Skip This
Logo