महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज भएका छन् ।
करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियम समेत तोड्न थालेका छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनी समेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको छ ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । तीमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसैगरी महाराष्ट्र राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म छ हजार ५३१ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार केन्द्रीय राजधानी समेत रहेको दिल्लीमा भने सङ्क्रमितको संख्या ६६ हजार ६०२ जना रहेको छ भने दुई हजार ३०१ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६०३ जना सङ्क्रमित हुँदा ८३३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया