ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यो घटना शनिबार भएको प्रहरीले जनाएको छ।
मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले घाइतेहरुको निःशुल्क उपचार गर्न र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
ट्रक चित्रकोन्डाबाट जोदम्बा तर्फ जाँदै गर्दा स्वाभिमान आँचल क्षेत्रको हन्तलागुडा घाटमा दुर्घटना भएको एक वरिष्ठ अधिकारीले बताए। त्यसपछि प्रहरी र स्थानीयले सिमेन्टको बोरामुनि पुरिएका पाँच मजदुरको शव र घाइतेलाई निकालेर अस्पताल पुर्याएका थिए।
पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक घाइतेको अस्पतालमा मृत्यु भयो। घाइते कामदारहरूलाई जोडम्बाको नजिकैको सरकारी अस्पताल लगियो र पछि चित्रकोंडा लगिएको थियो।
जानकारीका अनुसार मृतक सबै छिमेकी नबरङपुर जिल्लाको कोसागुमुडा क्षेत्रका बासिन्दा हुन्। नवरङपुरका सांसद रमेश माझीले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।





























प्रतिक्रिया