इजरायली प्रधानमन्त्रीले गाजाको भ्रमण गरे

इजरायली प्रधानमन्त्रीले गाजाको भ्रमण गरे

केन्द्रबिन्दु
0
Shares

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको क्रममा गाजाको भ्रमण गरेका छन्। इजरायल र हमासबीच चार दिने युद्धविराम चलिरहेको बेला नेतान्याहुले यो भ्रमण गरेका हुन्। दुई दशकमा गाजा भ्रमण गर्ने उनी पहिलो इजरायली प्रधानमन्त्री हुन्। 

गाजा भ्रमणका बेला नेतान्याहुले सैनिकहरूलाई भेटे र उनीहरूलाई प्रोत्साहन दिएका थिए। उनले अन्तिमसम्म संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ। नेतान्याहुले कमाण्डर र सैनिकहरूबाट सुरक्षा ब्रीफिङ लिएर गाजाको सुरुङको पनि अबलोकन गरेका थिए।

सैनिकलाई भेट्न पुगेका नेतान्याहुले हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएका थिए। सिपाहीसँगै उभिएर उनले भने,‘हामी हाम्रा कैदीहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौँ र अन्ततः सबैलाई फिर्ता ल्याउँछौँ।’ 

यो युद्धमा हाम्रा तीनवटा लक्ष्य छन्। सबै बन्धकहरूको फिर्ता, हमासको विनाश, र गाजाले इजरायललाई फेरि कहिल्यै खतरा नपार्ने कुरा सुनिश्चित गर्ने  उनले बताए। ‘हामीलाई कसैले रोक्न सक्दैन। हामीसँग बल छ र हामी हाम्रो लक्ष्य हासिल गर्नेछौँ’नेतान्याहुले भने। 

इजरायल सन् २००५ मा गाजाबाट एकपक्षीय रूपमा फिर्ता भएको थियो। २१ वटा बस्ती ध्वस्त पारेर यस क्षेत्रको नियन्त्रण प्यालेस्टिनी प्राधिकरणलाई सुम्पियो। हमासले २००७ मा एक रक्तपातपूर्ण कूद्वारा गाजा कब्जा गरेको थियो।

हमासले अक्टोबर ७ मा भएको आक्रमणमा २४० इजरायलीलाई बन्धक बनाएको थियो। इजरायलले यी मध्ये ५० जनालाई मुक्त गर्ने सम्झौता गरेको छ।सम्झौता अन्तर्गत, इजरायलले ५० बन्धकहरूको सट्टामा चार दिनको युद्धविराम गरेको थियो। यदि यो सम्झौता अगाडि नबढेमा सोमबार मध्यरातमा समाप्त हुनेछ। यस युद्धविरामको समयमा, इजरायली रक्षा बल गाजामा नै थियो।

Logo