बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ।
आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ। अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो। अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन।
प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ। राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन्।
मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ। चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन्। वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ। जसका कारण उडान र अवतरण रोकिएको छ।
विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो। करिब १५० उडान सेवा प्रभावित भएको छ। भारतको मौसम विभागका अनुसार उक्त चक्रवात चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ।





























प्रतिक्रिया