रुसको संसदले राष्ट्रपति पदको चुनावको मिति घोषणा गरेको छ। सन् २०२४ को मार्च १७ तारिखमा रुसमा राष्ट्रपति पदका लागि चुनाव हुनेछ।
उक्त चुनावमा वर्तमान राष्ट्रपति ७१ वर्षीय भ्लादिमिर पुटिन पनि उम्मेदवार बन्ने चर्चा चले पनि यस विषयमा उनले कुनै टिप्पणी भने गरेका छैनन्। तर, रुसको संवैधानिक व्यवस्थाअनुसार अहिलेको कार्यकाल पूरा गरेपछि अझैं २ कार्यकाल उनले चुनाव लड्न पाउने छन्।
रुसको राजनीतिक प्रणालीमा पुटिनको बलियो पकड रहेकाले जित लगभग निश्चित मानिन्छ। उनलाई चुनावमा चुनौती दिने उनका सम्भावित आलोचकहरू या त जेलमा छन् वा विदेशमा छन्।
स्वतन्त्र मत सर्वेक्षणका अनुसार युक्रेनमा सैन्य कारबाही र निजी सैन्य कम्पनीका प्रमुख येभगेनी प्रिगोजिनको विद्रोहले पुटिनको विश्वसनीयतामा कुनै असर गरेको देखिँदैन।
पुटिन कम्तीमा २०३० सम्म सत्तामा रहने सम्भावना छ। सन् २०२० मा संशोधन गरेर दुई कार्यकालको राष्ट्रपतिको सीमा लगाएपछि यो पहिलो चुनाव हुनेछ। पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए।
बोरिस येल्तसिनपछि पुटिनले राष्ट्रपति पद सम्हालेका थिए। उनी जोसेफ स्टालिन पछिका कुनै पनि रुसी शासकभन्दा लामो समय देशको राष्ट्रपति बनेका छन्। यसअघि लियोनिद ब्रेजनेभ १८ वर्षसम्म रुसको राष्ट्रपति थिए। यो रेकर्ड भने पुटिनले तोडिसकेका छन्।































प्रतिक्रिया