हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजरायल

हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजरायल

केन्द्रबिन्दु
0
Shares

अमेरिका र इजरायलबीच हमासविरुद्धको कारवाहीका विषयमा ‘गहन’ वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे विचार गरिरहेको छ।यस सम्बन्धमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले अब गाजामा युद्धका क्रममा हमासका नेताहरूलाई निशाना बनाउन सक्ने बताएका छन्। 

रिपोर्टहरूका अनुसार, अमेरिकाले व्यापक बम विष्फोट र भूमिगत कारबाहीको सट्टा हमासका आतंककारी नाइकेहरुलाई (नेताहरु) प्रत्यक्ष ध्वस्त पार्न दबाब दिइरहेको छ। यसै विषयमा इजरायल र अमेरिकाबीचमा लगातार छलफल भएको हो।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंकवादी हमलामा करिब १ हजार दुई सय जनाको मृत्यु भएको थियो। इजरायली सेनाले गरेको जवाफी कारबाहीमा हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। 

अमेरिकी सल्लाहकार जेक सुलिवानले आफ्नो इजरायल भ्रमणका क्रममा यस युद्धको अर्को चरणमा परिवर्तन हुने बताएका छन्। अब हमास नेताहरू र तिनीहरूको गुप्तचर कार्यहरूलाई लक्षित गर्दै थप आक्रमणहरू गरिनेछ।

इजरायलको प्रमुख निशानाहरूमा मोहम्मद डेफको नाम पनि समावेश छ। डेफ हमासको सैन्य शाखाको प्रमुख रहेको बताइएको छ।उनलाई अक्टोबर ७ को हमलाको मास्टरमाइन्ड मानिन्छ। हमासका नम्बर दुई कमाण्डर मारवान इसा पनि इजरायली सेनाको निशानामा छन्। गाजामा हमास नेता याह्या सिनवारलाई पनि मार्ने प्रयास भइरहेको छ।

सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँग बिहीबार भेट गरेको बताए। त्यसमा सेनाका वरिष्ठ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा ठूलो संख्यामा सर्वसाधारण मारिएपछि अन्तर्राष्ट्रिय समूदाय इजरायलविरुद्ध बन्दै गएको चेतावनी दिएका थिए।  इजरायली अधिकारीहरूसँगको बैठकपछि सुलिवानलाई अमेरिकाले सैन्य सहायता रोक्न सक्छ कि भनेर सोधिएको थियो। उनले जवाफ दिन अस्वीकार गरेका थिए।

Logo