बंगलादेशमा आम चुनावका लागि आउँदो आइतबार मतदान हुँदैछ। सत्तारुढ दल जसरी पनि चुनाव गराउने र विपक्षी दल जसरी पनि विथोल्ने रणनीतिमा उत्रिदा सुरक्षा व्यवस्था विथोलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीले आम निर्वाचनको विरोधमा बिहीबारदेखि ४८ घण्टाको राष्ट्रव्यापी आम हडतालको घोषणा गरेको छ। चुनावको मिति घोषणा भएदेखि नै बिएनपीले यी निर्वाचन बहिष्कार गर्दै आएको छ। वर्तमान प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा देशभर निष्पक्ष निर्वाचन हुन नसक्ने बीएनपीले लगातार आरोपहरु लगाउँदै आएको छ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले देश भरी चुनाव गराउन अन्तरिम निर्दलीय तटस्थ सरकारको माग गरेको छ। सत्तारुढ अवामी लिग सरकारले यो मागलाई अस्वीकार गरेको छ।
बिएनपीका सह वरिष्ठ महासचिव रुहुल कबीर रिजभीले बिहीबार पत्रकार सम्मेलन गरी आमहड्तालको घोषणा गरेका हुन्। हड्तालका क्रममा पक्राउ परेका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र स्थायी समिति सदस्य अमिर खसरु महमुद चौधरीलगायतका नेताहरुको रिहाइको पनि माग गर्दै आएको छ।
ह्युमन राइट्स वाचका अनुसार प्रहरीले हजारौं विपक्षी कार्यकर्ता र व्यक्तिहरूलाई पक्राउ गरेको छ। विगत तीन महिनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। राजनैतिक हिंसामा बस र ट्रक सहित कैयौं सवारी साधनमा आगजनी गरिएको थियो।
सरकारले सशस्त्र बल बाहेक कोस्ट गार्ड, बोर्डर गार्ड बंगलादेश (बीजीबी) र र्यापिड एक्सन बटालियन (आरएबी) का सदस्यहरू पनि चुनावी काममा खटाएका छन्। चुनावका लागि देशभर अर्धसैनिक सीमा गार्डको एक हजार एक सय ५१ प्लाटुन तैनाथ गरिएको छ।





























प्रतिक्रिया