विश्वकै सबैभन्दा पाँच धनाढ्य व्यक्तिको सम्पत्ति सन् २०२० यता दोब्बरभन्दा धेरैले बढेको छ । अक्सफाम नामक परोपकारी संस्थाको एउटा प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका मालिक बर्नार्ड आर्नो, अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजनका संस्थापक जेफ बेजोस, प्रविधि कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन र लगानी गुरु वारेन बफेटको कूल सम्पत्ति सन् २०२० को मार्चमा ४ खर्ब ५० अर्ब डलर थियो ।
सन् २०२३ को नोभेम्बरमा यिनीहरुको सम्पत्ति ८ खर्ब ६९ अर्ब डलरमा उक्लिएको छ । अक्फामले अमेरिकी आर्थिक पत्रिका फोब्र्स र वेल्थ एक्सको डेटाका आधारमा कूल सम्पत्ति निकालेको हो । स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठक शुरु हुँदै गर्दा सोमबार अक्सफामको प्रतिवेदन सार्वजनिक भएको हो ।
टेस्ला र स्पेस एक्ससहित धेरै कम्पनीहरू चलाउने विश्वकै धनी मस्क हालका वर्षहरूमा निकै अगाडि बढेका छन् । नोभेम्बरको अन्त्यमा उनको सम्पत्ति मार्च २०२० को तुलनामा ७३७ प्रतिशतले बढेर २४५ दशमलव ५ बिलियन डलर पुगेको छ।
साथै फ्रान्सेली लक्जरी सामान कम्पनी एलभीएचएमका अध्यक्ष बर्नार्ड र उनको परिवारको कुल सम्पत्ति १११ प्रतिशतले बढेर १९१ दशमलव ३ बिलियन पुगेकाे छ । अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २४ प्रतिशतले बढेर १६७ दशमलव ७ बिलियन पुगेकाे छ भने ओर्याकलका संस्थापक ल्यारी एलिसनको कुल सम्पत्ति १०७ प्रतिशतले बढेर १४५.५ बिलियन डलर पुगेको छ। शीर्ष पाँच धनी व्यक्तिहरूको सूचीमा अटाएका बफेटको कूल सम्पत्ति ४८ प्रतिशतले बढेर ११९ दशमलव २ बिलियन डलर पुगेको छ।
विश्वका १० ठुला कम्पनीमध्ये सात वटाको सीईओ वा प्रमुख शेयरधनी अर्ब पति भएको प्रतिवेदनले देखाएको छ ।
विश्वको कूल वित्तीय सम्पत्तिको ४३ प्रतिशत विश्वका धनाढ्य १ प्रतिशत जनसङ्ख्याको हातमा छ । एकै समयमा मुद्रास्फीति, युद्ध र जलवायु संकटसँग लड्दा विश्वभर झन्डै ५ अर्ब मानिस गरिब भएका छन्। यही प्रवृत्ति जारी रहने हो भने एक दशकभित्रै विश्वले पहिलो १० खर्बपति पाउने तर अर्को २२९ वर्षसम्म पनि गरिबी नहट्ने अक्सफामले प्रतिवेदनमा उल्लेख गरेको छ ।































प्रतिक्रिया