स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

केन्द्रबिन्दु
0
Shares

म्याड्रिड ।

स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना मुक्त भएकी छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन् , “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।”

तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो । मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो ।

मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन् ।

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोना भाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् । रासस–एएफपी

Skip This
Skip This
Logo