कोरोना महामारी : ८५ दिनमा ५० हजारको मृत्यु, त्यसपछिको २३ दिनमा डेढलाखको मृत्यु !

कोरोना महामारी : ८५ दिनमा ५० हजारको मृत्यु, त्यसपछिको २३ दिनमा डेढलाखको मृत्यु !

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर २ लाख ७ हजार भन्दा बढीको ज्यान गएको छ । तथ्याङ्कको हिसाबले ८५ दिन (लगभग तीन महिना) मा  ५० हजार मानिसको मृत्यु भएको थियो । त्यसपछिको केवल २३ दिनमा १ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यसले भाइरसको गति कत्तिको खतरनाक छ भनेर प्रष्टै देखाउँदछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ११ मार्चमा यस भाइरसलाई महामारी घोषणा गरेको थियो । आज अप्रिल २७ सम्म ३० लाख ४ हजार ८ सय ८७ व्यक्ति संक्रमित भएका छन् ।

जनवरी ९ मा पहिलो मृत्यु, त्यस्तै २ अप्रिलभित्र ५० हजारको मृत्यु

चीनले पहिलो पटक डब्लूएचओलाई यस रहस्यमय रोगको बारेमा ३१ डिसेम्बरमा सचेत गरायो । त्यसबेला चीनमा कोरोनाभाइरस संक्रमणको ३४ वटा मात्र केस देखिएको थियो । यस भाइरसबाट पहिलो मृत्यु चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ९ जनवरीमा भएको थियो ।

अप्रिल २ सम्म विश्वव्यापीरूपमा मर्नेहरुको संख्या ५० हजार पुग्यो । यस समयमा ईटालीमा सबैभन्दा बढी १३ हजार ९ सय १५ जनाको मृत्यु भएको थियो । त्यस्तै स्पेनमा १० हजार ३ सय ४८ जना, अमेरिकामा ७ हजार ५ सय ७६ जना र चीनमा ३ हजार ३ सय २२ जनाको मृत्यु भएको थियो ।

दोस्रो, ५० हजार मृत्यु मात्र ८ दिनमा

पहिलो ५० हजारको मृत्यु तीन महिनामा भएको थियो । तर, त्यसपछिको ५० हजारको मृत्यु केवल ८ दिनमा (२ अप्रिल देखि १० अप्रिल सम्म)मा भयो । यस अवधिमा सबैभन्दा बढी १४ हजार ४ सय ६२ मृत्यु अमेरिकामा मात्र भएको थियो । यसपछि स्पेनमा ५ हजार ७ सय ३३ र ईटालीमा ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको थियो ।

तेस्रो, ५० हजार मृत्यु मात्र ७ दिनमा 

कोरोना भाइरसबाट तेस्रो ५० हजार मृत्युहरु ७ दिनमा (१० अप्रिल देखि १७ अप्रिलसम्म) भयो । अप्रिल १० मा मृत्युको संख्या १ लाख ५ हजार ९ सय ७९ थियो । अप्रिल १७ मा यो संख्या १ लाख ५३ हजार ९ सय १५ पुग्यो । यसको ठिक ८ दिनपछि अप्रिल २५ मा यो संख्या बढेर २ लाख ३ हजार १ सय ६४ भयो । यस अवधिमा पनि अमेरिकामा ३२ हजार २ सय १८ भन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकामा मात्र ५५ हजार भन्दा बढी मानिसको मृत्यु

अमेरिका कोरोना भाइरसबाट बढी प्रभावित भएको छ । हालसम्म त्यहाँ ९ लाख ८७ हजार ३ सय २२ व्यक्ति संक्रमित भइसकेका छन् । त्यससंगै ५५ हजार ४ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा पहिलो मृत्यु फेब्रुअरी २९ मा भएको थियो । त्यस बेलासम्म चीनमा २ हजार ८ सय ७० जनाको ज्यान गइसकेको थियो ।
अमेरिकामा ४१ दिनमा पहिलो १० हजार जनाको मृत्यु

अमेरिकामा पहिलो १० हजार जनाको मृत्यु ४१ दिनमा भएको थियो भने दोस्रो १० हजारको मृत्यु मात्र ६ दिनमा भएको थियो । त्यसपछि केवल ४ दिनमा १० हजार जनाको मृत्यु भयो । २३ अप्रिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो।

अमेरिकाको साथसाथै युरोपेली देशहरु ईटाली, स्पेन, फ्रान्स र बेलायतमा पनि ठूलो रुपमा क्षति पु¥याएको छ । ईटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २३ हजार १ सय ९०, फ्रान्समा २२ हजार ८ सय ५६ र बेलायतमा २० हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ ।

(एजेन्सीको सहयोगमा)

 

Logo