दिल्ली।
गएको २४ घन्टा यता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । आज बिहानको तथ्यांक अनुसार भारतमा संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २५२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ १४ हजार ७५९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
मन्त्रालयले भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ४७ जना रहेको जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार ६६६ जना पुगेको उक्त मन्त्रालयले बताएको छ । यसैबीच महाराष्ट्रमा २३२ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५७२ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ४३१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यस प्रकोपको तेस्रो स्थानमा रहेको भारतको गुजरात राज्य रहेको छ । गुजरात १ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सक्रमणबाट ७१ जनाको मृत्यु भएको छ भने, १३१ जना उपचारपछि घर फर्किएका छन् ।
रासस/एएनआई





























प्रतिक्रिया