विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित, डब्लुएचओ

विश्वका ५२ मुलुकमा करिब २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित, डब्लुएचओ

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।
नोवेल कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठनले आइतबार जनाएको छ ।

डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दिँदै अधिकारीले भनेका छन् –‘सङ्क्रमित स्वास्थ्यकर्मीको तथ्याङ्कलाई व्यवस्थित गर्न नसकिएको तर डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको पाइएको छ ।’

प्रारम्भिक तथ्याङकले अधिकांश स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण बिरामीलाई उपचार सेवा दिने क्रममा भएको देखाएको छ । तर कतिपय स्वास्थ्यकर्मी आफ्नै समुदायमा फैलिएको सङ्क्रमणका कारण बिरामी परेको जनाइएको छ । उनीहरूमा देखिएको सङ्क्रमण प्राय सङ्क्रमित भनेर उपचारका लागि लगिएका बिरामीसँगबाट भन्दा पनि बिरामीका आफन्तजनबाट सरेको पाइएको छ । सङ्क्रमित बिरामीसँग चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका बावजुद् पनि उनीहरू सङ्क्रमित भएका तथ्यहरू भेटिएको डब्लुएचओले जनाएको छ ।

अग्रपंक्तिमा रहेर सङ्क्रमितको उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईमा सम्लग्न रहने स्वास्थ्य संस्थाका कामदारले मास्क, चस्मा, पञ्जा तथा गाउनजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग गरी सङ्क्रमणबाट आफू र अरूलाई बचाउन प्रर्याप्त सावधानी अपनाउनुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । स्वास्थ्यकर्मीबाट पनि सङ्क्रमण फैलिएका बताउँदै संगठनले सही पद्धतिमार्फत् काम गर्न उनीहरूलाई आग्रह गरेको छ । –रासस सिन्ह्वा

Logo