न्यूयोर्क ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९ सय जनाको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८ सय ५७ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ३५ हजार मानिस संक्रमित भएका छन् भने ८२ हजार १ सय ९१ जनाको निधन भइसकेको छ । यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।
हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार १ सय २७ जनाको निधन भइसकेको छ भने एक लाख ३६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कूल एक लाख ४२ हजार कोरोना संक्रमित भएको स्पेनमा १४ हजारभन्दा बढीको निधन भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७ सय ४३ जनाको निधन भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् ।
त्यस्तै फ्रान्समा एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३ सय २८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगि नसकेको बताए ।
बेलायतमा ६ हजार १ सय ५९ जनाको निधन भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत गरी ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।
उता इरानमा मृतकको संख्या ३ हजार ८ सय ७२ पुगेको छ भने चीनमा ३ हजार ३ सय ३३, नेदरल्यान्ड्समा २ हजार १ सय १, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८ सय २४, टर्कीमा ७ सय २५ तथा ब्राजिलमा ६ सय ८८ जनाको ज्यान गएको छ । चीनले कोरोना भाइरस उत्पत्तिको केन्द्र मानिएको हुबे प्रान्तको वुहान सहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएको छ ।
त्यस्तै करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ६० पुगेको र १ सय ६४ जनाको निधन भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको निधन भएको छ , बंगलादेशमा १ सय ६४ जना संक्रमित पाइएकामा १७ जनाको निधन भएको र श्रीलंकामा १ सय ८६ जना संक्रमितमध्ये ६ जनाको निधन भएको छ । –रासस/एपी/एएफपी





























प्रतिक्रिया