नयाँ दिल्ली ।
भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ पुगेको जनाइएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४ सय ९० जनामा सङ्क्रमण देखिएको छ । साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १ सय ९ पुगेको सो मन्त्रालयले जनाएको छ ।
यी सङ्क्रमितहरुमध्ये उपचारको क्रममा २ सय ९२ जना भने उपचार गरी घर फर्किएका छन् । अरु ३ हजार ६ सय ६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् । भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ ।
महाराष्ट्रमा मात्र ६ सय ९० जना सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । त्यसैगरी त्यसपछि सबैभन्दा धेरै बिरामी तामिल नाडुमा छन् । त्यहाँ ५ सय ७१ जना बिरामी छन् भने नयाँ दिल्लीमा ५ सय ३ जना बिरामी रहेका छन् ।
भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ ।
अहिलेसम्म विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख ८८ हजार ३ सय ७२ पुगेको छ । त्यस्तै कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७० हजार ४ सय ८२ पुगेको छ भने २ लाख ७० हजार २ सय ४९ पुगेको छ ।–रासस/एएनआई































प्रतिक्रिया