चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

हुबेई ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ। भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ । कोरोना भाइरस नियन्त्रण प्रयास जारी रहेका समय नयाँ वर्षका अवसरमा दिइने बिदालाई आगामी आइतवारसम्म विस्तार गरिएको छ।

सोमबार प्रधानमन्त्री ली खछ्याङले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तको राजधानी वुहान सहर पुगेका छन्। हुबेईमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सोमबार साँझसम्म १०६ पुगेको हो । चीनले वुहानलाई अन्य भूगोलसँग छुट्याएर रोग फैलिन नदिने प्रयास गरेको छ भने अन्य करिब एक दर्जन स्थानको भ्रमण गर्न वा त्यहाँबाट अन्यत्र जानमा रोक लगाएको छ।

सांघाईमा आगामी फेब्रुअरी १० तारिखसम्म औद्योगिक तथा व्यापारिक गतिविधिलाई पुनः सञ्चालन नगर्न सरकारले निर्देशन जारी गरेको छ। यो निर्देशन दैनिक उपभोगका सामानहरू, सुपरमार्केट, औषधी आपूर्तिकर्ता र औषधी उद्योगका लागि भने लागु नहुने बताइएको छ।

पछिल्लो जानकारी अनुसार अहिलेसम्म ४ हजार २ सय जनामा संक्रमण भएको पुष्टि भएको छ भने पाँच हजार ७९४ बिरामीहरूलाई शंकाको आधारमा निगरानीमा राखी उपचार गरिराखिएको छ। बिरामीमध्ये ४६१ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको र ५१ जनालाई पूर्णरूपमा निको भएपछि अस्पतालबाट घर पठाइएको छ।

चीनबाहेक अन्य मुलुकका ४४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ। पछिल्लो रिपोर्ट अनुसार थाइल्याण्डमा आठ, अमेरिका पाँच, अस्ट्रेलियामा पाँच र सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरियामा चार–चार जना संक्रमित भेटिएका छन् । त्यस्तै, फ्रान्स र जापानमा तीन, तीन जना भियतनाममा दुई र नेपाल र क्यानाडामा एक–एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकका अधिकारीले पुष्टि गरेका छन्।
नागरिकबाट

Logo