वासिङ्टन ।
अमेरिकाको माथिल्लो सदन सिनेटमा बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। अमेरिकाको इतिहासमा राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको यो तेस्रो पटक हो। यसअघि सन् १८६८ मा तत्कालीन राष्ट्रपति एन्ड्रयु जोनसोन र १९९९ मा बिल क्विन्टनविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको थियो।
ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ। डेमोक्र्याट्सको बहुमत रहेको तल्लो सदनमा डिसेम्बर १८ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। डेमोक्र्याट्स संसद एवं तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पविरुद्ध सिनेटमा पनि महाभियोग प्रस्ताव अघि बढेको घोषणा गरेकी छिन् । राष्ट्रपति ट्रम्पले भने यसलाई हाँस्यास्पद भनेका छन्।
महाभियोग प्रस्ताव सिनेटमा अघि बढाउनेबारे तल्लो सदनमा भएको मतदानमा दुई सय २८ पक्ष र एक सय ९३ मत विपक्षमा परेको थियो। सभामुख पेलोसीले अमेरिका नयाँ इतिहास रच्न गइरहेको भन्दै सत्ताको दुरुपयोग र संसद्को काममा बाधा पुर्याएकाले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउनुपरेको बताएकी छिन् । महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै उनले भनेकी छिन्, ‘यसले राष्ट्रपतिलाई उत्तरदायी बनाउने छ।’ सिनेटले ट्रम्पको महाभियोग परीक्षण अघि बढाउन प्रबन्धकको नियुक्तिका लागि सदन प्रस्ताव ७९८ समेत पारित गरेको छ।
माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेकाले उक्त प्रस्ताव पारित हुने सम्भावना भने कमै छ। पेलोसीले महाभियोग प्रस्तावका पक्षमा बहस गर्न सात सदस्यीय अभियोजन टोलीसमेत नियुक्त गरेकी छिन् । उनीहरुले सिनेटमा राष्ट्रपति ट्रम्पलाई हटाउने पक्षमा बहस गर्नेछन्।
ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सिनेटबाट उक्त प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित हुनुपर्छ। तर सिनेटमा उनको पार्टीको बहुमत छ।
एजेन्सी































प्रतिक्रिया