मोन्टेभिडिओ । अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुवाँ दक्षिण अमेरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुवाँ दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।
“यही जनवरी ६ सोमबार दिउँसोदेखि उरुग्वेको आकाशमा धुवाँका भुल्काहरू देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुवाँले त्यस क्षेत्रका अन्य देशहरूमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका संचार माध्यमहरूलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुवाँले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ । उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे ।
अष्ट्रेलियाको धुवाँ प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ । रासस/सिन्ह्वा































प्रतिक्रिया