बगदाद । अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरूका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ ।
इराक र सिरियाका करिब पाँच स्थानमा अमेरिकाले यस्तो हमला थालेको हो । अमेरिकी सेनाले इराक र सिरियाका ती स्थानमा आइतबारबाट हमला थालेको बताइएको छ ।

इराकमा रहेका भनिएका कताब हेजबुल्लाहका शिविरहरूलाई अमेरिकी सेनाले लक्ष्य बनाएको हो । केही दिनअघि इराकमा रहेका अमेरिकी सेनामाथिको हमलाका विरुद्धमा यो कारबाही गरिएको हो । केही दिनअघिको सो हमलाका क्रममा इराकमा अमेरिकाका एकजना ठेकेदारको मृत्यु भएको थियो । त्यही आक्रमणको प्रतिउत्तर स्वरूप आइतबार अमेरिकी सेनाको यो आक्रमण शुरु भएको अनुमान गरिएको छ ।
इराकको सुरक्षा निकायले आइतबार अमेरिकी सेनाले गरेको सो हमलामा परी यहाँका कम्तीमा पनि २५ जना कताइब हेज्बोल्लाह समूहका लडाकूको ज्यान गएको बताएकाे छ । त्यस आक्रमणमा अरू ५० जना घाइते भएका पनि इराकी सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षा अधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए ।
आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ । यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।

अमेरिकी सरकारले ती हेज्बुल्लाह समूहलाई आतङ्कवादी सङ्गठनका रूपमा व्यवहार गर्ने गरेको छ । अमेरिकी सेनाले गत हप्ता इराकको किर्कुक शहरमा हमला गरेको थियो । त्यसअघि भएको ती हेजबुल्लाहको आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए । त्यस आक्रमणमा परी कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू पनि घाइते भएका थिए ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी इरानलाई दिएका थिए । त्यसैगरी आइतबारै अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि लडाकू विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको जानकारी यहाँस्थित समाचारदाताहरूलाई दिएका थिए । उनले आक्रमण गरेका भनिएका ती स्थानमध्ये तीनवटा स्थान इराकको पश्चिमी क्षेत्र र अरू दुईओटा भने सिरियाको पूर्व भू–भागमा पर्छन् ।
कताइब हेजबुल्लाह नामको सो लडाकू समूह शिया मुस्लिमहरूको मिलिसिया समूह हो सन् २००७ मा गठन भएको यो सङ्गठन इरानको समर्थनमा स्थापना भएको हो । (रासस/एएफपी)





























प्रतिक्रिया