इस्लामावाद ।
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मंगलवार मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानको विशेष अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो।
पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरीफबाट सत्ता आफ्नो हातमा लिएका थिए।
पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शहीद करीमको संयुक्त इजलासले मुशर्रफलाई मृत्यु दण्डको फैसला सुनाएको हो।
विशेष अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो। देशद्रोहको यो मुद्दा सन् २०१३ को डिसेम्बरदेखि अल्झिदै आएको थियो। तीन सदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ। मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। देशद्रोहको गम्भीर मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले नोभेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेश गर्न डिसेम्बर ५ सम्मको अन्तिम समयसीमा दिएको थियो।
अदालतले उनीविरुद्ध फैसला सुनाए पनि मुशर्रफ भने सन् २०१६ देखि स्वेच्छिक निर्वासनका क्रममा दुबईमा बस्दै आएका छन् । उनले उपचारका लागि दुबई बस्नुपरेको बताउँदै आएका छन्। उपचार भइरहेकाले स्वदेश फर्किन नसक्ने उनले बताउँदै आएका छन्। उनले आफूले दुस्मनसँगको युद्धको नेतृत्व गरेकाले देशसँग गद्दारी गर्ने विषय सोच्न पनि नसकिने बताएका छन्।
फाँसी आदेश किन ?
संकटकाल लगाउनु पाकिस्तानी संविधान अनुसार दण्डनीय अपराध भएको जिकिर गरिएको छ। सन् २००७ मा संविधान निलम्बन गरेको र देशमा संकटकाल लागू गरेको हुनाले फाँसी दिनुपरेको अदालतले स्पष्ट पारेको छ। पकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीको सरकार सरकार सत्ता आएपछि डिसेम्बर २०१३ मा मुशर्रफविरुद्ध राजद्रोहको मुद्दा दायर गरिएको थियो। मुशर्रफ कारगिल युद्धका बेला पाकिस्तानका सेनाप्रमुख पनि हुन् ।
सन् १९९९ को १२ अक्टोबरमा श्रीलंका भ्रमणमा रहेका तत्कालीन सेनाप्रमुख मुशर्रफलाई प्रधानमन्त्री शरीफले पदबाट बर्खास्त गरेका थिए । उनको ठाउँमा जनरल अजीजलाई प्रधानसेनापति बनाएका थिए । नवनियुक्त प्रधानसेनापति अजीजले सेनाको मर्यादाक्रम मिच्न नहुने भन्दै मुशर्रफलाई नै साथ दिएका थिए । मुशर्रफ स्वदेश फर्किंदा उनको विमानलाई विमानस्थलमा अवतरण गर्न पनि दिइएको थिएन । बर्खास्त भइसकेका हुनाले विदेशी भूमिमा अवतरण गर्न नदिने र इन्धन सकिएपछि विमान आकाशमै ध्वस्त हुने योजनामा शरीफ ढुक्क थिए।
करिब दुई घण्टासम्म पाकिस्तानको आकाशमा मुशर्रफ चढेको विमान घुमेको थियो। विमानमा इन्धन सकिन थालेपछि मुशर्रफप्रति बफादार सैनिकले विमानस्थल घेरा हालेको थियो। सैनिक घेराबन्दीबीच विमानले आपतकालिन अवतरण गरेको थियो। इस्लामाबाद आइपुग्नासाथ मुशर्रफले शरीफ र उनका मन्त्रीहरूलाई बन्दी बनाउँदै आफू सुरक्षाप्रमुख भएकाले शान्ति कायम गर्न सैनिक शासन लागू भएको घोषणा गरेका थिए। त्यसको केही समयपछि उनले आफूलाई राष्ट्रपति घोषित गरेका थिए। विमान अपहरण गरेको र आतंकवाद फैलाएको भन्दै मुशर्रफले शरीफलाई पक्राउ गरेका थिए। उनलाई सपरिवार साउदी अरब निर्वासनमा पठाइएको थियो।
मुशर्रफको त्यो चर्चा
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको ११ औं शिखर सम्मेलनमा नेपालमा हुँदै गर्दा पाकिस्तानका मुशर्रफको निकै चर्चामा थिए। शिखर सम्मेलनको सबै तयारी रहँदा मुशर्रफ नेपाल आउने या नआउने अन्यौलता थियो।
भारत र पाकिस्तानको सम्वन्धको कारण त्यो समयमा मुशर्रफ नेपाल आउन भारतको आकाश प्रयोग नगर्ने अवस्था थियो। त्यही कारण उनी एक दिन ढिला गरि चिनियाँ आकाश हुँदै नेपाल आए। तर शिखर सम्मेलनमा तत्कालिन भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीसँग उनको हात मिलाई र संवादले विश्वको ध्यान खिचेको थियो।
अन्नपूर्णबाट





























प्रतिक्रिया