सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । मुनको पाँच वर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि क्युनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको जनाइएको छ ।
मुख्य प्रशासनिक नेतृत्वदायी जिम्मेवारीलाई प्रधानमन्त्रीको रूपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन् । सफल व्यवसायी र वाणिज्य, उद्योग र ऊर्जा मन्त्रालयसमेतको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकाले उनले यो जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गर्ने अपेक्षा गरिएको हो ।
क्युनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानेर प्रधानमन्त्रीमा नियुक्तिका लागि प्रस्ताव गरेकाे बताइएको छ । उनलाई अब संसदीय सुनावाई पछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने छ । प्रधानमन्त्रीमा नियुक्त भएमा दक्षिण कोरियामा सभामुखसमेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने उनी नै पहिलो व्यक्ति बन्नेछन् । रासस





























प्रतिक्रिया