पेरिस । अत्यधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरू तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
रेल तथा सडक ट्राफिकले दिएको जानकारीअनुसार ६३ वर्षीय पुरुषको बिहीबार बेलुका निधन भएको हो । बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा ती वृद्धको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हिउँका कारण बाटो पनि अवरुद्ध भएको र बाटोबाट हिउँ हटाउने काम पनि भइरहेको समाचारमा जनाइएको छ ।
एक सरकारी अधिकारीले भने, “यस क्षेत्रका झण्डै तीन लाख घरमा शुक्रबार विद्युत सेवा अवरुद्ध भएको छ ।” विशेष गरेर ड्रोम, अर्डेच, इसेर, ल्योन र ग्रेनोबल लगायतका क्षेत्रमा हिमपातका कारण बढी असर परेको र विद्युत सेवा अवरुद्ध भएको एक जना प्रवक्ताले बताएका छन् ।
हिमपातका कारण यसरी ठूलो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको यो अपवादको घटना भएको अधिकारीहरूको भनाइ छ । प्रवक्ता रोबिन डेभोगेलेइरले भने, “हिउँका कारण विद्युत प्रवाहमा समस्या भएकाले विद्युत सेवा अवरुद्ध भएको हो ।” उनले त्यस क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ जमेको जानकारी दिए । (रासस-एएफपी)
प्रतिक्रिया