भारतसँगको शिखर वार्तामा कश्मीर मुद्दा नउठाइने : चीन

भारतसँगको शिखर वार्तामा कश्मीर मुद्दा नउठाइने : चीन

केन्द्रबिन्दु
0
Shares

पइचिङ,

चीनले भारतसँगको शिखर वार्तामा भारतसँग कश्मीर विवाद नउठाउने बताएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना भारत भ्रमण गर्ने कार्यक्रम छ।

भारतले जम्मु कश्मीरमा धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तानबीच विवाद बढेको छ। ५ अगस्तमा भारतले चालेको कदमले पाकिस्तानले विभिन्न मञ्चमार्फत यो विषय उठाउँदै आएको छ। पाकिस्तानले संयुक्त राष्ट्रसंघमा पनि यो विषय उठाए पनि सफल हुन सकेन।

यसै विषयलाई लिएर चीनले सी–मोदीबीच हुने भेटमा कश्मीरलाई मुद्दा नबनाउने स्पष्ट पारेको हो। पाकिस्तानले भारतसँगको कूटनीतिक स्तर घटाएको छ। मोदी र सीको चाहना अनुसारका विषयमा छलफल हुने चिनियाँ विदेश मन्त्रालयकी ह्वा चुनयिङले बताइन् । उनले यो अनौपचारिक शिखर वार्ता र दुई नेताको बैठक भएको बताइन्। ह्वाले भनिन्, ‘मेरो विचारमा कश्मीर जस्ता मुद्दा सामेल गरिने छैनन् ।’ दुवै नेताले आफूले चाहेका विषयमा छलफल गर्ने जानकारी दिइन्। उनले भनिन्, ‘हामीले कश्मीरलाई भारत–पाकिस्तानबीचको समस्याका रूपमा लिएका छौं।

कश्मीर विवादलाई लिएर संयुक्त राष्ट्रसंघका केही प्रस्ताव छन्। हामीलाई लाग्छ, यसैले यो विवाद राष्ट्रसंघीय बडापत्र र प्रस्ताव अनुरूप भारत र पाकिस्तानबीच मैत्रीपूर्ण एवं शान्तिपूर्ण तरिकाले हल गरिनेछ।’ राष्ट्रपति सीले आगामी महिना भारत भ्रमण गर्दैछन्। सी र मोदीको भेट हुने स्थान र समयबारे उनले विस्तृत जानकारी दिइनन् ।
एजेन्सी

Logo