वातावरणमा नराम्रो प्रभाव परेको भन्दै जाजरकोटको कुशे गाँउपालिकाले एक करोडमुनिका आयोजनामा डोजर/स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिश गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाइएको छ । गाउँपालिकाले दुई वर्षको अवधिमा १२ सडक आयोजनाअन्तर्गत १४२ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ ।
‘डोजरले काम छिटो भए पनि भू–क्षयको जोखिम निकै बढाउँदोरहेछ, त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौँ’, उनले भने । डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए । विरोधका बाबजुद पनि निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उनले बताए ।
अध्यक्ष बस्नेतले भने, ‘कुशे गाउँपालिकाका नौ वटै वडामा सडकको ट्र्याक खुलिसकेको छ, अब स्तरोन्नति गर्न बाँकी छ, त्यो सबै काम स्थानीय नागरिकबाटै गराउँछौं ।’ कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन् । वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ । गाउँपालिकाभित्र खनिएको अधिकांश सडकमा उनीहरुकै डोजरको प्रयोग गरिएको थियो ।
सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन् ।
प्रतिक्रिया