अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

अमेजन जङ्गलमा डढेलोको रौद्र रुप, नियन्त्रणका लागि सेना परिचालन

केन्द्रबिन्दु
0
Shares

ब्राजिल,

ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भिषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ । पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जङ्गलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन् । विश्वका प्रकृतिप्रेमीले अमेजोनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरुप ब्राजिलसँगको व्यापार रोक्न विश्व समुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन् ।

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ । एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन् ।

“यो दृश्य सामान्य छैन । जङ्गलमा जताततै आगो लागिरहेकाले आकाश धुँवा नै धुँवाले ढाकेको छ,” राज्यको राजधानी पोर्टो भेल्होको एक होटलका कर्मचारीले बताए । पोर्टो भेल्हो नगरकै नजिक आगलागी भइरहेकाले पूरै नगर धुँवा र धुलोले छपक्क ढाकेको छ ।

विश्वकै सबैभन्दा ठूलो जङ्गलको उपमा पाएको यस जङ्गलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ । ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप नै चलेको छ । फ्रान्सेली राष्ट्रपति म्याँक्रोले अमेजन जङ्गलको डढेलोलाई “अन्तर्राष्ट्रिय संकट” का रुपमा लिनुपर्ने बताएका छन् । उनले ब्राजिलले तत्काल नियन्त्रणका आपतकालीन उपाय अवलम्बन नगरे युरोपेली युनियनसँगको व्यापार सम्झौता नै अबरुद्ध पार्ने धम्की दिएका छन् ।

पछिल्लो सरकारी तथ्यांकमा यस वर्ष मात्र ब्राजिलमा ७६ हजार ७२० वटा बन डढेलोका घटना रेकर्ड गरिएका छन् । सन् २०१३ यता यो नै सबैभन्दा बढी डढेलाका घटना भएका हुन् । विज्ञहरुले चरिचरन वा बाली लगाउनका लागि जमिन तयार गर्न स्थानीयवासीले सुख्खा मौसममा जङ्गल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन् ।
एएफपी

Logo