पाकिस्तानको चुनावमा अमेरिकी नजर

पाकिस्तानको चुनावमा अमेरिकी नजर

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। पाकिस्तानमा यही फेब्रुवरी ८ मा आमनिर्वाचन हुँदैछ। पाकिस्तानी आमचुनावमा अमेरिकासहित विश्वका धेरैजसो देशको नजर छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आमचुनावालई नजिकबाट नियालिरहेको जनाएको छ।

‘पाकिस्तानमा हुने आमचुनावलाई नजिकबाट अनुगमन गरिरहेका छौँ। अभिव्यक्ति स्वतन्त्रता र कानूनी अधिकारको उल्लंघनप्रति हाम्रो चिन्ता छ,’ सोमबार अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ।

अमेरिकाले पाकिस्तानी जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर भावी नेता छान्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनमा भने,‘हामीले पाकिस्तानको चुनावी प्रक्रियालाई नजिकबाट नियालिरहेका छौं। हामी यसमा धेरै भन्दा धेरै मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं र अभिव्यक्ति स्वतन्त्रता र विधायिका अधिकारको सम्मान हुनुपर्छ भन्ने चाहान्छौँ।’

उनले अमेरिकाले चुनावका बेला हिंसाका घटनाहरू नचाहेको र मिडिया स्वतन्त्रतामा प्रतिबन्ध नलगाउन समेत आग्रह गरेको बताए। ‘हामी मिडिया स्वतन्त्रतामा प्रतिबन्ध र इन्टरनेट स्वतन्त्रतामा प्रतिबन्धको विरुद्धमा छौं। पाकिस्तानका जनतालाई आफ्नोे मौलिक अधिकार प्रयोग गरेर आफ्नो भावी नेता चुन्ने अधिकार छ र यसका लागि निर्वाचन स्वतन्त्र, निष्पक्ष र कुनै डरविना हुनुपर्छ,’ पटेलले भने।

पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसंख्या भएको देश हो। पाकिस्तानको जनसंख्या हाल २४१.५ मिलियन छ। यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ। मतदानको उमेर १८ वर्ष छ। पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दू र ०.५ प्रतिशत अन्य छन्। पाकिस्तानको चुनावमा २६६ सिटका लागि ५ हजार १२१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

Skip This
Skip This
Logo