रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा फ्रान्समा तीन जना पक्राउ

रोजगारी खोज्ने फाइल चोरी गरेको आरोपमा फ्रान्समा तीन जना पक्राउ

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। फ्रान्सको प्रहरीले रोजगारी खोज्नेहरूको डाटाबेसबाट चार करोड ३० लाख मानिसको निजी डाटा चोरेको आरोपमा तीन जना संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले मङ्गलबार बताएका छन्।

करिब २० वर्ष उमेर समूहका तीन जनालाई आइतबार पक्राउ गरिएको र मङ्गलबार अनुसन्धान मजिस्ट्रेटले उनीहरूमाथि आरोप लगाउने साइबर अपराध अनुसन्धान एकाइले विज्ञप्तिमा बताएको छ।

“प्रविधि र टेलिफोन प्रयोगमार्फत उनीहरूको ट्र्याक गरिसकेपछि संदिग्धहरूको घरहरूमा खोजी गर्दा केहीले ‘फिसिङ’ प्रविधि प्रयोग गरेर मानिसहरूलाई ठगिरहेको पुष्टि भएको छ”, अनुसन्धानकर्ताहरूले भनेका छन्। बेरोजगारी एजेन्सी फ्रान्स ट्राभेलले मार्च १३ मा फेब्रुअरी ६ देखि मार्च ५ को बीचमा आफू ठूलो मात्रामा डाटा चुहावटको सिकार भएको बताएको थियो।

हमलाकारीहरूले कामको खोजीमा विकलाङ्ग मानिसको समर्थन गर्ने एजेन्सीमा काम गर्ने मानिसहरूको लगिन विवरण प्रयोग गरेर डाटासम्म पुगेको अभियोजनकर्ताहरूले बताएका छन्। उनीहरूले व्यक्तिगत जानकारीका चार करोड ३० टुक्रा डाउनलोड गरिएको अनुमान गरेका छन्।

यसमा बेरोजगारीको सेवाका लागि नाम, जन्ममिति र स्थान, भौतिक तथा इमेल ठेगाना, टेलिफोन नम्बर, सामाजिक सुरक्षा नम्बर र लगिन नाम समावेश थिए। फ्रान्स ट्राभेलले चुहावटको समयमा प्रभावित मानिसहरूमा सक्रिय रोजगारी खोज्नेहरूका साथै पछिल्लो २० वर्षदेखि सेवाको प्रयोग गर्नेहरू पनि रहेको बताएको छ। चोरिएको डाटामा बैंक विवरण र पासवर्ड नभएको बताइएको छ।

अधिकारीहरूले फान्स ट्राभेल डाटा चोरी सम्भवतः गत साता सरकारी नेटवर्क पूर्वाधारहरूविरुद्ध ४८ घन्टाको ठूलो साइबर हमलासँग सम्बन्धित नभएको बताएका छन्। सिभिल सर्भिसमन्त्री स्टानिस्लास गुएरिनीले सञ्चार अवरुद्ध गर्ने प्रयासका लागि रुस समर्थक ह्याकरहरूलाई दोष दिँदै उक्त प्रयासलाई विफल बनाएको बताएका छन्।

Logo