भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान हुँदै

भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान हुँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। जम्मु र कश्मिरसहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको विश्वास गरिएको छ।

जम्मु र कश्मिरसहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भइरहेको छ। सातौं चरणमा सम्पन्न हुने अपेक्षा गरिएको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान यतिञ्जेल शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको भारतको निर्वाचन आयोगले जनाएको छ।

आज बिहान ७ बजे सुरु भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का ८ जना र तीन जना पूर्वमुख्यमन्त्रीसहित एक जना पूर्वराज्यपाल निर्वाचन प्रतिष्पर्धामा सहभागी छन्।

पहिलो चरणको मतदानमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल, अन्डमान निकोबार, जम्मू र कश्मीर, लक्षद्वीप र पोण्डिचेरीमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन्। जसमा ८ करोड ४ लाख पुरुष र ८ करोड २३ लाख महिला मतदाता छन्। मतदानका लागि १ लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ।

देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिने र सामान्यतया त्यहीदिन नतिजा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ। ६ हप्ता समय लगाएर सकिने निर्वाचनमा ९७ करोड मतदाता सहभागी हुने विश्वास गरिएको छ। एक करोड ५० लाख कर्मचारीले १० लाख मतदान केन्द्र सञ्चालन गर्नेछन्। यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ।

Logo