युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः अमेरिका

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः अमेरिका

केन्द्रबिन्दु
98
Shares

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन‍् । यद्यपि हमासको गाजा–आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले बताए ।

गाजा पट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः सुरु गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको हाे ।

“वास्तवमा युद्धविराम र बन्धकहरूको रिहाइको जवाफमा उनीहरूले हुन्छ भन्न सक्छन् वा सक्दैनन् भन्नेबारेमा हामीले प्रतीक्षा गरिरहेका छौँ”, ब्लिङ्केनले भने, “अहिलेको वास्तविकता भनेको गाजाका जनता र युद्धविरामको बीचमा उभिएको एक मात्र चिज हमास हो ।”

लडाकूहरूले प्यालेस्टिनी जनताको ‘प्रतिनिधित्व गरेको दावीलाई’ ध्यानमा राख्दै ब्लिङ्केनले भने, “यदि यो सही हो भने युद्धविरामलाई ग्रहण गर्न कुनै सोचविचार गर्न जरुरी छैन, तर सम्भवतः अरु केही भइरहेको छ र आगामी दिनमा हामीसँग यसको राम्रो चित्र हुनेछ ।”

विदेशमन्त्री ब्लिङ्केनले हमाससँगको वार्तामा कठिनाइहरू औँल्याए । हमासलाई अमेरिकाले आतङ्कवादी समूह मान्छ र प्रत्यक्षरूपमा वार्तामा सामेल हुँदैन । हमासलाई इजराइलले समाप्त पार्ने वाचा गरेको छ ।

“कतारी र इजिप्टेलीमार्फत हामीसँग अप्रत्यक्षरूपमा संलग्न रहेका हमासका नेताहरू निश्चितरूपमा गाजाबाहिर बस्छन्”, ब्लिङ्केनले भने, “अन्तिम निर्णय लिनेहरू वास्तवमा गाजामा बस्छन् र उनीहरूसँग हामीमध्ये कसैको पनि प्रत्यक्ष सम्पर्क छैन ।”

Logo