सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानडाको ‘राजनीतिक बाध्यता’

सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानडाको ‘राजनीतिक बाध्यता’

केन्द्रबिन्दु
42
Shares

नयाँदिल्ली । भारतका विदेशमन्त्रीले गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्यामा कथित भारतीय संलग्नतामा क्यानाडाको अनुसन्धान ‘राजनीतिक बाध्यता’ भएको बताएका छन् । हत्या मामिलामा तीन भारतीय नागरिक पक्राउ परेपछि उनले उक्त टिप्पणी गरेका हुन् ।

क्यानाडाली प्रहरीले शुक्रबार हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध छ वा ‘अन्य कोही हुनसक्छ’ भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचरलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोपहरू’ थिए भन्नुभएपछि उक्त हत्याले गत शरद ऋतुमा ओटावा र नयाँदिल्लीबीचको कूटनीतिक सम्बन्धमा चिसोपन ल्याएको छ ।

भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्यो र कडा प्रतिक्रिया दियो । साथै क्यानाडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्यो ।

“क्यानाडामा भारतलाई दोष दिनु उनीहरूको राजनीतिक बाध्यता हो”, शनिबार विदेशमन्त्री एस. जयशङ्करलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया समाचार समिति (पिटिआई) ले भनेको छ ।

सन् १९८० को दशकमा खालिस्तान नामक सिख मातृभूमि निर्माण गर्ने उद्देश्यले भएको पृथकतावादी विद्रोहका क्रममा हजारौँ मानिस मारिएका थिए । उक्त आन्दोलन भारतभित्र धेरै हदसम्म कम भएको छ तर क्यानाडामा रहेका करिब सात लाख ७० हजारसहितको सबैभन्दा ठूलो सिख आप्रवासीको समुदायले अल्पसङ्ख्यक स्वरको समर्थनलाई कायम राखेको छ ।

“नयाँदिल्लीले ओटावासँग सिख पृथकतावादीहरूलाई भिसा वा राजनीतिक वैधता नदिनका लागि मनाउन खोजेको छ किनकी तिनीहरूले क्यानाडा, हाम्रा लागि तथा हाम्रो सम्बन्धका लागि समस्या निम्त्याउँदै छन्”, विदेशमन्त्री जयशङ्करले भने, “क्यानाडाले केही मामिलामा हामीसँग कुनै प्रमाण साझा गर्दैन र प्रहरी एजेन्सीहरूले हामीलाई सहयोग गर्दैन ।”

सन् १९९७ मा क्यानाडा बसाइँ सरेका निज्जरले १८ वर्षपछि त्यहाँको नागरिकता लिएका थिए । उनी कथित आतङ्कवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूको खोजीमा थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक २० वर्षको आसपासका थिए र उनीहरूमाथि ‘फर्स्ट डिग्री’ हत्या तथा षड्यन्त्रको आरोप लगाइएको थियो । उनीहरूमाथि गत जुनमा निज्जरको हत्यामा गोली चलाउने, चालक र जासुस भएको आरोप लगाइएको थियो । क्यानाडाली प्रहरीले हत्यामा ‘अन्य मानिसले पनि भूमिका निर्वाह गरेको’ थाहा भएको बताएको छ ।

नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा अर्का सिख पृथकतावादी नेतामाथि यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो । भारतीय विदेशी गुप्तचर अधिकारी उक्त योजनामा संलग्न रहेको वासिङ्टन पोस्टको अनुसन्धानले गत साता रिपोर्ट गरेको थियो तर नयाँदिल्लीले उक्त दाबीलाई खारेज गरेको छ । -एएफपी

Logo