आईसीजेसामु इजरायलविरुद्ध कारबाही गर्न दक्षिण अफ्रिकाको पुन माग

आईसीजेसामु इजरायलविरुद्ध कारबाही गर्न दक्षिण अफ्रिकाको पुन माग

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । दक्षिण अफ्रिकाले इजरायललाई कारबाही गर्न माग गरेको छ । इजरायलले गाजापट्टीको रफाहमा गरिरहेको आक्रमणको विरोधमा दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मार्फत इजरायललाई कारबाही गर्न माग गरेको हो ।

डिसेम्बरमा पहिलो निवेदन दायर गरेपछि दक्षिण अफ्रिकाले गाजा युद्धमा इजरायलविरुद्ध कारबाही गर्न अनुरोध गरेको यो तेस्रो पटक हो । दक्षिण अफ्रिकाले इजरायलले प्यालेस्टिनी क्षेत्रमा नरसंहार गरिरहेको आरोप लगाएको छ । इजरायलले भने दक्षिण अफ्रिकाको आरोप अस्वीकार गर्दै आएको छ ।

दक्षिण अफ्रिकाको आवेदनले रफाहमा इजरायलको कारबाहीले मानवीय सहायता र आधारभूत सेवाहरूको चिकित्सा प्रणाली र प्यालेस्टिनी नागरिकहरूको अस्तित्वमा चरम जोखिम खडा गरेको उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकाले इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ । ‘हामी अदालतलाई इजरायललाई रफाहबाट तुरुन्तै हट्न र आफ्नो सैन्य कारबाही बन्द गर्न आदेश दिन आग्रह गर्दछौं ।’ गाजामा संयुक्त राष्ट्र संघ र मानवीय सहायता प्रदान गर्ने अन्य समूहहरूलाई निर्बाध पहुँच प्रदान गर्ने आदेश पनि मागेको छ ।

गाजाको दक्षिणी सहर रफाहको बाहिरी इलाकामा इजरायली सेना र प्यालेस्टिनी लडाकूहरूबीच भीषण युद्ध भएको संयुक्त राष्ट्रसंघका एक अधिकारीले बताएका छन् । जसका कारण नजिकका महत्वपूर्ण सहयोगी मार्गहरुबाट सहायता सामग्री लिएर जान कठिन भएको छ । जबकि एक लाखभन्दा बढी मानिस उत्तरतर्फ भाग्न बाध्य भएका छन् ।उनीहरुलाई नयाँ ठाउँमा लैजानु वा औषधि खानेकुरा आदि उपलब्ध गराउन कँहीबाट पनि कुनै सहयोग पुगेको छैन ।

रफाहमा रहेको ओसीएचएका अधिकारी जर्जियोस पेट्रोपोलोसले सहर नजिकका दुई मुख्य सीमा नाका बन्द गरिएको बताए । ‘आपूर्ति कटौती गरिएको छ र चिकित्सा निकासी र मानवीय कर्मचारीहरूको आवागमन पनि रोकिएको छ । हामीलाई करिडोर पार गर्ने आश्वासन दिइए पनि मानवीय क्षेत्रलाई युद्धमा सेनाको यति नजिक हुनु स्वीकार्य छैन ।’ संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले शनिबारसम्म दक्षिणी गाजामा वितरणका लागि खाद्यान्न सकिने जनाएको छ ।

त्यहाँ हरेक दिन करिब ३० हजार मानिस सुरक्षाको खोजीमा रफाह छाडिरहेका छन् । हालसम्म करिब १ लाख १० हजारले राफा छोडिसकेका छन् । उता, इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्न आफूसँग पर्याप्त हतियार रहेको दाबी गरेको छ ।

Logo